-->
ग्लोबल आइएमई बैंकबाट ग्राहकको पैसा गायब प्रकरणः बैंकबाटै ३ जना पक्राउ, मेनेजर पनि दोषी

सिरहा, १८ माघ । सिरहाको लहानस्थित ग्लोबल आइएमई बैंकबाट ग्राहकको रकम हराएको घटनामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रुपेश यादब, पंकज राम र अनिल यादब छन् । पंकज सप्तरी साश्वरका हुन् भने बाँकी दुईको ठेगाना खुलेको छैन् । तीनै जनाले बैंकबाट रकम निकालेको स्वीकारेका छन् ।
सप्तरी सारश्वर–४ गौराकी अनिता देवी रामले ग्लोबल आइएमई बैंकमा जम्मा गरेको तीन लाख रुपैंया खाताबाट हराएपछि प्रहरीको गरेको अनुसन्धानबाट उनीहरु दोषी देखिएका हुन् । उनीहरुले अनिताको नागरिकता र चेकबुक चोरेर पटक पटक गरी २ लाख ८४ हजार रकम निकालेका थिए ।
पंकज भन्छन्, ‘अनिताको घरबाटै चेक र नागरिकता चोरें । मलाई १६ हजारको काम थियो । सुरुमा १६ हजार रुपेशलाई चेक दिएर निकाल्न लगाएँ । त्यसपछि उनीहरुले कति कति रकम निकाले मैले पनि थाहा पाइन् ।’ पक्राउ परेकामध्ये अनिलले एकपटक आफलेू ८१ हजार रुपैया निकालेको स्वीकारे । उनले भने, ‘८१ हजार मैले निकालेको हो । अरु कसले निकाल्यो थाहा छैन् ।’
बैंक मेनेजरको पनि मिलेमतो
प्रहरीले तीन जना युवकहरुलाई पक्राउ गरेपनि यो घटनामा बैंकका मेनेजर र अन्य कर्मचारीहरु पनि दोषी देखिएका छन् । युवकहरुले अनिताको हस्ताक्षर कसरी मिलाए भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका अभियुक्त पंकज भन्छन्, ‘अनिताले कसरी हस्ताक्षर गर्छिन् भन्ने कुरा थाहा थिएन । चेकमा उनको नाम मात्र लेखेर बैंक गयौँ । बैंकका कर्मचारीले मलाई केही सोधेनन् । उनीहरुले खुरुक्क रकम दिए ।’
तर बैंकका म्यानेजर विशाल गुप्ताले अनिताको जस्तो हस्ताक्षर नमिलेपनि बैंकले कसरी रकम दियो भन्ने जिज्ञासामा केही बताउन चाहेन् । अनिताले रकम निकालेको चेकको हस्ताक्षर र ती युवाहरुले रकम निकालेको चेकको हस्ताक्षर हेर्न दिनका लागि आग्रह गर्दा पनि बैंकका मेनेजरले मानेनन् । युवकहरुले करिब एक लाख रुपैंया निकाले पनि बाँकी रकम बैंककै कर्मचारीले बदमासी गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
बैंक म्यानेजरले घटना मिलाउन खोज्दा रकम निकाल्नेहरु पक्राउ
अझ सबैभन्दा गम्भीर कुरा के छ भने बैंक म्यानेजर विशाल गुप्ताले घटना मिलाउने क्रममा नै रकम निकाल्नेहरु पक्राउ परेका हुन् । रकम निकाल्नेहरु बैंक आएको खबर पाएपछि इलाका प्रहरी कार्यालय लहानको टोली बैंक पुगेको थियो । जबकी बैंक म्यानेजर विशाल गुप्ताले चुपचाप घटना मिलाउने कोसिस गरेका थिए । पीडितको खातामा रकम जम्मा गर्न लगाएर अपराधीलाई उन्मुक्ति दिने प्रयास गरेको थाहा पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
बैंक म्यानेजर गुप्ता आज बिहानै गाडी लिएर पीडित महिलाको घर सप्तरी सारश्वर ४ गौरा पुगेका थिए । बैंक म्यानेजरले आफूभन्दा पहिले खाताबाट रकम निकाल्ने तीन युवालाई पीडितको घर पठाएर घटना मिलाउन भनेका थिए । पीडित नमानेपछि बैंक म्यानेजर पीडितको घर आफै पुगेर रकम निकाल्ने ती युवाहरु र पीडितलाई सँगै लिएर बैंक आएका थिए ।
पीडित अनिताले बैंक म्यानेजर गुप्ताले तीन महिनापछि रकम दिने भनेर फकाउने प्रयास गरेको बताइन् । उनले भनिन्, ‘बैंक म्यानेजरले मोवाइल समेत खोसेर राख्यो । करिब एक घटनासम्म मोवाइल राखेर फोन समेत रिसिभ गर्न दिएन । भन्थ्यो तपाईकै मान्छेले रकम निकालेको हो । रकम लिएर सानो घटनालाई ठूलो नबनाउनुस् ।’
अनिता सामान्य लेखपढ गर्न मात्र जान्ने महिला हुन् । उनका श्रीमान वैदेशिक रोजगारीमा छन् । श्रीमानले विदेशबाट कमाएर पठाएको रकम आइएमई मनी ट्रान्सफरबाट आएका कारण उनले रकम पनि आइएमई बैंकमै राखेकी थिइन् । तर, बैंकमा जम्मा गरी राखेको रकम एकाएक गायब भएपछि उनी आश्चर्यमा परेकी थिइन् । खाताबाट बदमासी गरी रकम झिकिएको पत्ता लागेपछि उनले कानुनी कारबाही अगाडि बढाउन खोजेपनि बैंकले चुपचाप घटना लुकाउने कोसिस गरेको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.