-->
प्रचण्ड सरकारले मनाउने भयो प्रजातन्त्र दिवस !

काठमाडौं, २५ माघ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसपटक प्रजातन्त्र दिवस मनाउने भएको छ । यसअघि गठन भएका माओवादी सरकारले प्रजातन्त्र दिवसलाई उपेक्षा गर्दै आएका थिए । 



सन्दर्भ तस्वीर : गत वर्ष सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवसमा सहभागी हुँदै राष्ट्रपति भण्डारी

विसं २०६८ सालमा माओवादीका तर्फबाट डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेको समयमा फागुन ७ को प्रजातन्त्र दिवस मनाइएको थिएन । सरकारले प्रजातन्त्र दिवसको अवमूल्यन गरेकोले प्रधानमन्त्रीले माफी माग्नुपर्ने भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेको थियो । राप्रपा नेपाल लगायतका दलले पनि संसदमा यसको विरोध जनाएका थिए । 

‘तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले माफी माग्दै आगामी वर्षदेखि प्रजातन्त्र दिवस मनाउने भनेकोले सदन चल्न दिएका थियांै,’ नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचेतक लक्ष्मण घिमिरेले लोकान्तरसँग भने । तत्कालीन प्रधानमन्त्री भट्टराईले फागुन ७ लाई प्रजातन्त्र दिवस नमनाउने नै हाम्रो नीति हो भनेपछि आफूहरूले सदन अवरुद्ध गरेको घिमिरेले स्मरण गरे । 

यसपटक फागुन ७ मा शनिवार परेकोले सरकारले सार्वजनिक विदा घोषणा नगरिएपनि प्रजातन्त्र दिवस मनाउन सरकारले तयारी थालेको छ । प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा मंगलवार बस्दैछ । 

‘विगतको गल्ती सच्याउन सरकारले यसपटक प्रजातन्त्र दिवस मनाउने तयारी गरेको हो,’ खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले लोकान्तरसँग भने । २०६२/६३ सालको जनआन्दोलन सफल भएको दिन वैशाख ११ लाई लोकतन्त्र दिवस मनाउने निर्णय भएसँगै प्रजातन्त्र दिवस छायाँमा पर्दै आएको छ । 

फागुन ७ को प्रजातन्त्र दिवस, वैशाख ११ को लोकतन्त्र दिवस या जेठ १५ को गणतन्त्र दिवसमध्ये एउटा मात्र मनाउने विषयमा विगतका सरकारले छलफल गरेका थिए । विसं २००७ सालमा प्रजातन्त्र स्थापना भएको अवसरमा फागुन ७ मा प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.