धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको एक महिनामा ३० प्रतिशत काम सकिएको छ ।
काठमाडौं, माघ २५ –
महिना दिनअघि महजोडी कलाकार हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठद्वारा शिलान्यास गरिएको बर्दिबास स्थित नमुना मुसहर बस्तीमा ३० प्रतिशतभन्दा बढी काम सकिएको परियोजनाका संयोजक अर्जुन न्यौपानेले जानकारी दिनुभएको छ । ‘एक महिनामै ३० प्रतिशतभन्दा बढी काम सकिएको छ’ परियोजनाका संयोजक न्यौपानेले भन्नुभयो, ‘यहि गतिमा काम भए हामीले छिट्टै काम सम्पन्न गर्न सक्छौँ ।’
१५ दिनमै १५ प्रतिशतभन्दा बढी काम सकिएको मुसहर बस्तीमा अहिले घरको झ्याल र ढोका हाल्ने काम सुरु भइसकेको छ । स्थानीय बासिन्दाले पनि बस्ती निर्माणमा साथ दिइरहेको संयोजक न्यौपानेले बताउनुभयो । ‘सबैको साथ र सहयोगले
सोचेभन्दा छिटो काम अगाडी बढीरहेको छ’ उहाँले भन्नुभयो, ‘मुसहरहरुको अनुहारमा छुट्टै खुसी आएको छ । अब हामीले बस्ती पाउँछौ भनेर दिनरात बस्ती निर्माणमा खटिरहनुभएको छ ।’
एकीकृत नमु्ना मुसहर बस्ती निर्माणका लागि सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका जोडी सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली मंगलबार नेपाल फर्कंदै छन् । अष्ट्रेलियाका विभिन्न सहरमा आयोजित कार्यक्रममा मुसहर बस्ती निर्माणका लागि सहयोग संकलन गरेर यो जोडि नेपाल फर्किन लागेको हो । अष्ट्रेलियामा गज्जबको ईभेन्ट्सद्वारा आयोजना गरिएको धुर्मुस सुन्तली साँझ र अन्य सहयोगी मनहरुबाट धुर्मुस सुन्तलीले ६५ लाख रुपैयाँ सहयोग संकलन गरेका छन् ।
धुर्मुस र सुन्तली आज नेपाल फर्कंदै
एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि ४ करोड ७८ लाख रुपैयाँ लगानी लाग्ने अनुमान लिइएको छ । फाउण्डेसनले अहिलेसम्म मुसहर बस्ती निर्माणका लागि ७० लाख रुपैयाँको हाराहारीमा खर्च गरेको छ । फाउण्डेसनका लेखा अधिकृत खत्रीले बताएअनुसार अहिलेसम्मको सहयोग रकममा अष्ट्रेलियाबाट उठेको र कतारबाट घोषित रकम अझै बैंकको खातामा जम्मा भइसकेको छैन । घोषित रकम र अहिलेसम्मको संकलित सहयोग रकमसहित फाउण्डेसनमा अहिलेसम्म २ करोड ५० लाख रुपैयाँ बराबरको सहयोग संकलन भएको बताइएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले यसअघि सिन्धुपाल्चोकको गिरानचौर र काभ्रेको पहरी बस्ती बनाएको थियो ।
साभार उज्यालो अनलाइन

0 comments
प्रतिक्रिया दिनुहोस्...