-->
एसएसपी पक्राउ र यसअघिका दुई काण्ड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनाअघि भएको करिब ३४ किलो सुन तस्करीमा संलग्नता पुष्टि भएपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री आइतबार पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले प्रहरी प्रधान कार्यालय नक्सालबाट खत्रीलाई पक्राउ गरेको हो।


 दुवईबाट ल्याइएको ३४ किलो सुन तस्करी हुँदा एसएसपी खत्री अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए। यसअघि पक्राउ परेका सरकारी कर्मचारी र सुन ओसारपसारमा संलग्नहरूसँगको बयान र थप अनुसन्धानपछि उनको संलग्नता पुष्टि भएकाले पक्राउ गरिएको सिआइबी स्रोतले बतायो। सुन तस्करीमा संलग्न भएको आशंकामा खत्री पुसको तेस्रो साता प्रहरी प्रधान कार्यालय तानिएका थिए।


 थप अनुसन्धानका लागि खत्रीलाई हिरासतमा राखिएको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए। ‘हामीले सुन तस्करीको जालो पहिचान गरिसकेका छौँ,’ डिआइजी सिलवालले भने, ‘अनुसन्धान जारी छ।’ प्रहरी स्रोतका अनुसार भन्सारका उच्च कर्मचारी पनि अनुसन्धानको दायरामा तानिएका छन्।


 ‘अनुसन्धानका क्रममा कर्मचारीको माथिल्लो तह नै सुन तस्करीमा संलग्न भएको पुष्टि भइरहेको छ,’ स्रोतले भन्यो, ‘हामी निष्कर्षको नजिक–नजिक पुग्दै छौँ।’ विमानस्थलको जाँच छलेर गौशाला पुर्‍याएको अवस्थामा २१ पुसमा करिब ३४ किलो सुनसहित नेपालगन्जका गोपालबहादुर शाही, मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्ले समातिएका थिए। तर, सुन मालिक को हुन् भन्ने अझै खुलेको छैन।


 तस्करलाई सघाएको आरोपमा सिआइबीले ९ माघमा विमानस्थल भन्सारका एक्सरे टेक्निसियन श्यामकृष्ण श्रेष्ठलाई पनि पक्राउ गरेको थियो। त्यसअघि तस्करीमा मिलेमतोको आरोपमा ६ कर्मचारी पक्राउ परेका थिए। भन्सारका कर्मचारीद्वय श्रीनारायण यादव र राजकुमार ढकाललाई सिआइबीले पक्राउ गरी संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको छ।


 यसअघिका दुई काण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ असोज ०६९ मा ठूलो परिमाणमा विदेशी मुद्रा बरामद भएको थियो। सो घटनामा संलग्नता पुष्टि भएपछि प्रहरी वरिष्ठ उपरीक्षक रविराज श्रेष्ठ २३ चैत ०६९ मा सेवाबाट बर्खास्त भएका थिए। त्यसअघि नौ लाख भारु र विद्युतीय सामग्री घुस लिएको अभियोगमा विमानस्थलका तत्कालीन सुरक्षा प्रमुख डिआइजी गोपाल भण्डारी पनि सेवाबाट बर्खास्त भएका थिए।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.