-->
भगवान विष्णुको आठौं रुप भगवान कृष्ण

भगवान कृष्ण र उनको कृष्ण लिला वारेमा हामी सबै परिचित नै छौं । हिन्दु धार्मिक ग्रन्थका अनुसार भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भएको थियो अर्थात कलीयुगको आगमन भन्दा ५०० देखि १ हजार वर्षको बीचमा उनको जन्म भएको अनुमान गरिएको छ । हिन्दू पञ्चाङ्गका अनुसार २१औँ शताब्दीको सुरुमा कलियुगको आयु ५ हजार एक सय वर्ष तोकिएको छ ।

कृष्णको जन्म जेलमा भएको हो । भाद्र कृष्ण अष्टमीको आधा रातमा जेलमा आठौं गर्भ जन्माउनका लागि थुनिएकी देवकीबाट उनको जन्म भएको हो । तर उनको गर्भलाई सामान्य गर्भ मानिंदैन । क्राइस्ट कुमारी मरियमको गर्भमा प्रवेश गरेका थिए र यसको संकेत बेथलहेमको ताराले दिएको थियो । बुद्धकी आमा मायावतीले बुद्ध गर्भमा आउनु अघि सेता हात्ती मुखबाट शरीर भित्र प्रवेश गरेका देखेकी थिइन् । अन्याय र अत्याचार नाश गर्न श्रीकृष्णको जन्म हुने सो जन्म ईश्वरको अवतार हुने आकाशवाणी भएको घटना भागवत कथामा उल्लेख छ ।


भगवान श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरावासी वसुदेवकी धर्म पत्नी देवकीको गर्भबाट राजा कंशको जेल भित्र भएको थियो । देवकी राजा कंशकी बहिनी थिईन् । उनीहरू दबैै भाइ बहिनीहरू तत्कालीन मथुराका राजा उग्रसेनका सन्तान थिए । राजा कंश देवकीको विवाहमा वशुदेव र देवकीलाई रथमा राखेर आफुले रथ हाँक्दै उनको घरमा पुगाउन जाँदै थियो । त्यसैबेला नारदमुनी आएर कंशलाई भने ‘जसलाई तिमी आफ्नो बहिनी ज्वाँइ भनेर पु¥याउन जाँदै छौ उनको आठौँ गर्भबाट तिम्रो मृत्यु हुनेछ ।’


नारदको यो कुरा सुनेर कंश रिसले आगो भयो उसले देवकीको हत्या गर्ने मनसायले आफ्नो तरवार निकाल्यो, तब वशुदेवले कंशको अघाडी हात जोडेर देवकीको गर्भबाट जती बालकहरू पैदा हुन्छन् ती सबैलाई जन्मेकै घडी कंशलाई सुिम्पदिने संकल्प गर्दै देवकीको प्राण रक्षाको विन्ती गरे । यो सुनेर कंशले वशुदेवको प्रतिज्ञा स्वीकार गरेर आफ्नो घर गयो । केही दिन पछि देवकीको गर्भबाट पहिलो बालक पैदा भयो । वशुदेवले आफ्नो प्रतिज्ञा बमोजिम बालक कंशको घर पुराए ।

यो देखेर कंशले देवकीको आठौँ गर्भको बच्चामात्र मलाइ दिनु बाँकीका बालकहरू दिनु पर्दैन भनि फर्कायो तर नारदमुनी आएर जो गर्नु छ यी बालकलाई गर आठौँ गर्भको बालकलाई त तिमी केही पनि गर्न सक्दैनौ भने । यो सुनेर राजा कंशले वसुदेवसँग बालक मागेर बालकलाई जमीनमा पछारी हत्या गरिदियो । यसै गरी देवकीका सातवटा बालकहरूको कंशले हत्या गरिदियो । त्यस पछि देवकीलाई आठौँ गर्भ रह्यो। राजा कंशले देवकीको यो गर्भबाट आफ्नो कालको जन्म हुने सोचेर गर्भ रहेको दशौँ महिनामा देवकी र वसुदेवलाई जेलमा बन्द गरेर राख्यो ।


जेलको बाहिर आफ्ना पहरेदारहरूलाई कडा पहरा दिने आज्ञा गरेको थियो । तर भगवानको लिला अपरम्पार छ । जब श्रीकृष्णको जन्म भयो त्यसबेला पहरेदारहरूलाई मोह निद्राले ढाक्यो । भगवान श्रीकृष्णको जन्मको पत्तोसमेत पनि पहरेदारहरू थाहा पाएनन् । भगवान विष्णुले पहिले त वसुदेव देवकीलाई आफ्नो चतुर्भुज अवतारको दर्शन गराए । त्यसपछी वसुदेवलाई ‘गोकुलमा नन्दगोपका घरमा भरखरै मात्र एक कन्याको जन्म भएको छ । तिमी मलाई गोकुल लैजाउ त्यहाँ मलाई यशोदाको काखमा सुताएर उनको छोरीलाई ल्याएर यहाँ आउनु ।

यति सम्झाएर विष्णु अन्तध्यान हुुनुभयो । केही छिन पछि देवकीको गर्भबाट भगवान श्रीकृष्णको जन्म भयो । भगवानको लिलानसार वशुदेव र देवकीका सबै नेलहरू खुल्ला भए भगवान बिष्णुले बताए बमोजिम वसुदेवले बालक कृष्णलाई टोकरीमा राखेर गोकुल जान हिँडे । बाटोमा यमुनाजी पर्छन् । यमुनाले पनि भगवान श्रीकृष्णको दर्शन गर्नाको साथै वसुदेवको लागि बाटो छोडी दिईन् ।
केही छिनमै वसुदेव यशोदाको काखमा खेलिरहेकी कन्यालाई उठाइ बालक कृष्णलाई त्यहाँ सुताएर मथुरा फर्के । तर यो कुरा यशोदालाई थाहा भएन ।

यशोदालाई प्रसव पिडाका कारण कन्याको जन्म भएको पनि थाहा थिएन । यता वसुदेवले मथुरा आएर कन्यालाई देवकीको काखमा राखी जेलमा पूर्ववत बन्दी भएर बसे । केही छिन पछि बालीका जोर जोरले रुन थालिन् । यो सुनेर पहरेदारहरूको मोह निँद्रा खुल्यो कसैले बालक जन्मेको कुरा कंशलाई भन्यो । बालक जन्मेको कुरा थाहा पाएर कंश जेलघरमा आएर बालिकालाई देवकीको हातबाट खोसेर बाहिर लग्यो । बालिकालाई पहिलेका बालकहरू जस्तै गरी जमिनमा पछार्दा बालिकाले आकाशमा उड्दै ‘पापी मलाई जति कोशिस गरे पनि मार्न सक्दैनस् । तलाई मार्ने तेरो शत्रु गोकुलमा छ,’ यी बालिका महा शक्ति योगमाया दुर्गा भगवतीको अवतार थिइन् ।

आठौं गर्भ ज्यादै विशेष भएकोले सातौं गर्भमा त्यसको पूर्व तैयारी गरिएको थियो । तर पछि त्यस गर्भलाई ईश्वरीय विधिले रोहिणीको गर्भमा बलरामको रुपमा स्थानान्तरण गरिएको थियो । कृष्णलाई यशोदाको गर्भको बालिकासँग साटिएको थियो । वास्तविक जन्मको रुपमा कृष्णलाई आठौं गर्भ भन्न मिल्दैन तर एउटी बालिकाको बलिदान समेतलाई हिसाब गर्दा उनी आठौं नै हुन्छन् । यसरी भगवान कृष्ण एक असाधारण गर्भ र असाधारण जन्म थिए ।

उनले जन्मलिनु अघि देवकी र वसुदेवलाई चतुर्भुज स्वरुपम दर्शन दिएको कथा भागवतमा उल्लेख छ । जन्म हुना साथ आमाको दूध मुखमा राख्न नपाइ छुट्टिनु परेको घटनालाई ध्यान दिने हो भने कुनै पनि दूध खाने बालकलाई यो भन्दा दुर्भाग्यको घटना अर्को हुन सक्दैन । जुन बालक जन्मनु अघि असुरक्षित छ र जन्मि सकेपछि पनि निरन्तर असुरक्षित छ उसको जीवनको संघर्षको जटिलतालाई शब्दमा बयान गर्न सकिंदैन ।

जीवनका भयंकर असुरक्षित क्षणहरुलाई नाचेर, गाएर, अत्यन्त हलुका रुपमा लिएर, अर्काको घरमा आफ्नो घरमा भन्दा प्रिय वातावरण बनाएर हुर्कने बच्चाको असाधारण क्षमतालाई सामान्य मानवको आंखाले हेर्न सकिंदैन ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.