काठमाडौै – शरणार्थी ती पुरुष, महिला र बालबालिका हुन्, जो युद्धको चपेटाबाट प्रताडित छन् वा दुव्र्यवहारको मुख्य केन्द्रबिन्दु बनेका छन् । उनीहरू अतिवादी होइनन्, बरु आफैँ अतिवादीबाट बारम्बार पीडित छन् ।
संसारका निकै जोखिम र खतरामा परेका मानिसलाई आश्रय दिएकोमा म हाम्रो देशप्रति निकै गौरव गर्छु । मानवअधिकार कुनै पनि संस्कृति, भूगोल, जातजाति र धर्मभन्दा माथि हुन्छ भन्ने विचार रक्षा गर्न अमेरिकीले धेरै रगत बगाएका छन् ।
तर, पछिल्लो समयमा शरणार्थी पुनस्र्थापन र भर्ना पक्रियालाई निलम्बन गर्ने र सातवटा मुस्लिम देशका शरणार्थी र आप्रवासीलाई अमेरिका प्रवेश गर्न रोक लगाउने निर्णयले विश्वभरका हाम्रा मित्र र शुभेच्छुक निकै दुःखी भएका छन् ।
विश्वव्यापी शरणार्थी संकट समाधान गर्न र अतिवादीको बारम्बारको चेतावनीका कारण देशको सीमालाई कसरी राम्रोसँग सुरक्षा गर्ने भन्नेबारे सोचविचार पुयाउन हामीलाई पूर्ण रूपमा अधिकार र अनुमति छ ।
अन्तर्राष्ट्रिय जिम्मेवारी बहन गर्दै हरेक सरकारले आफ्ना नागरिकको रक्षा र उनीहरूको आवश्यकतालाई सन्तुलनमा राख्नैपर्छ । तर, हामीले चाल्ने कदमको मूल्यांकन गरिनुपर्छ र यो कदम त्रासमा नभई सत्यमा आधारित हुनुपर्छ ।
६ जना बालबालिकाकी आमाको नाताले, (जो सबै विदेशी भूमिमा जन्मिएका थिए र अहिले अमेरिकी नागरिक भएकोमा गौरवान्वित महसुस गर्छन्) म मेरो देश उनीहरू र हाम्रो देशका सबै बालबालिकाका लागि निकै नै सुरक्षित होस् भन्ने चाहन्छु ।
तर, म यो पनि जान्न चाहन्छु कि शरण वा आश्रयका लागि योग्य शरणार्थी बालबालिकाले आफ्नो अवस्था वा समस्याबारे दयाभाव राख्ने अमेरिकीसँग आश्रयका लागि अवसर पाउनुपर्छ । सम्पूर्ण देशका नागरिकको अवमूल्यन नगरी हामी आफ्नो सुरक्षा व्यवस्थापन गर्न सक्छौँ ।
शरणार्थी वा आप्रवासीका कारण हाम्रा देशका सिमानामा भीड भएको वा अतिक्रमण भएको वा आप्रवासी शरणार्थीलाई सूक्ष्म जाँचविना अमेरिका भर्ना गरिएको भन्ने विषय सरासर झुट हुन् । अमेरिका यात्रा गर्ने यात्रुमध्ये सबैभन्दा बढी जाँच आप्रवासी शरणार्थीमा हुने गरेको छर्लंगै छ ।
शरणार्थी भर्ना पक्रिया एक दिन वा घन्टामा हुने विषय होइन । उनीहरूलाई संघीय अनुसन्धान ब्युरो, राष्ट्रिय प्रतिआतंकवाद केन्द्र, होमल्यान्ड सेक्युरिटी मन्त्रालय र विदेश मन्त्रालयले महिनौँसम्म अन्तर्वार्ता र सुरक्षा जाँच गर्छन् ।
यसबाहेक पहिलो चरणमा सबैभन्दा बढी जोखिममा परेका मानिस जस्तै– यातनाबाट बाँचेका, खतरमा परेका महिला र बालबालिका, औषधिको आकस्मिक प्रबन्ध नभए जुनसुकै वेला मृत्युको मुखमा पुग्न सक्ने जोखिम रहेका व्यक्तिको पुनस्र्थापन प्रक्रियालाई प्राथमिकता दिइन्छ ।
मैले विश्वका असंख्य शिविर र सहरको भ्रमण गरेकी छु, जहाँ सयौँ हजार शरणार्थी मुस्किलले बाँचेका छन् र उनीहरूका हरेक परिवार युद्धका कारण अत्यधिक पीडित छन् ।
उनीहरूमध्ये केहीलाई राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय युएनएचसिआरले संरक्षण गर्न अत्यावश्यक रहेको ठहर गर्छ भने उनीहरू हाम्रो देशलगायत अन्य देशमा नयाँ जीवन सुरु गर्नका लागि योग्य छन् भन्ने हामी ढुक्क हुनुपर्छ । वास्तवमा भन्ने हो भने अत्यन्तै सानो अंश (विश्वमा भएका आप्रवासी शरणार्थीको एक प्रतिशतभन्दा थोरै शरणार्थी) अमेरिका वा अन्य कुनै देशमा पुनस्र्थापित भएका छन् ।
अहिले विश्वभर ६ करोड ५० लाख शरणार्थी र विस्थापित मानिस छन् । हरेक १० जना शरणार्थीमध्ये नौजना गरिब र मध्यम आय भएका देशमा बस्छन् । टर्कीमा मात्र २८ लाख सिरियाली शरणार्थी बस्छन् । सन् २०११ देखि केवल १८ हजार सिरियाली शरणार्थी अमेरिकामा पुनस्र्थापित भएका छन्, जुन संख्या अत्यन्तै न्यून र नगन्य हो ।
यो विभेदले अर्को गम्भीर वास्तविकतालाई औँल्याउँछ । शरणार्थीलाई आश्रयको ढोका बन्द गर्नु स्वीकार्य छ भन्ने सन्देश विश्व समुदायलाई हामीले पठाएमा वा धर्म तथा सम्प्रदायका आधारमा उनीहरूमाथि विभेद गरेमा हामीले आगोसँग जोरी खोजेजस्तै हुनेछ । हामीले एउटा झिल्को आगो फाल्दै छौँ, जसबाट सल्केको आगोले सम्पूर्ण महाद्विपलाई नै जलाउनेछ । जसले निकै अस्थिरता निम्त्याउने अवश्यम्भावी छ । हामी द्वितीय विश्वयुद्धपछिकै सबैभन्दा खराब शरणार्थी संकटको अवस्थाबाट गुज्रिरहेका छौँ ।
अफ्रिकी र मध्यपूर्वमा केही त्यस्ता देश छन्, जो शरणार्थी राख्ने विषयमा आफ्ना पूर्वप्रतिबद्धताबाट थप विचलित बनेका छन् । सीमा खुला राख्न ती देशलाई आग्रह गर्ने कार्यमा र शरणार्थी समस्या समाधान गर्ने विषयमा अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्न अमेरिकी कूटनीतिज्ञ पुस्तौँदेखि राष्ट्रसंघमा आबद्ध छन् ।
सो कार्यमा धेरै कूटनीतिज्ञले उदाहरणीय उदारता देखाएका छन् । धर्मका आधारमा अरूको अधिकार उल्लंघन गर्दा वा राष्ट्रिय सुरक्षाको एउटा बहानामा अन्य देशले हामीलाई प्रतिबन्ध लगाएमा हाम्रो जवाफ कस्तो होला ?
म्यानमारका अल्पसंख्यक रोहिन्ग्याँ वा सोमालियाका शरणार्थी वा अन्य विस्थापित लाखौँ मुस्लिमका लागि प्रतिबन्धले के अर्थ राख्न सक्छ ? विश्वास र धर्मको आधारमा गरिने विभेदले के अर्थ राख्छ ?
हामीले लैजाने शरणार्थीको समस्या सानै वा हाम्रो तर्फबाट थोरै योगदान भए पनि सत्य के हो भने हाम्रो आफ्नै सुरक्षाका लागि हामीले विश्वयुद्धपछि लामो संघर्षपश्चात् बनाएको राष्ट्रसंघको महासन्धि र मापदण्ड रक्षाका लागि योगदान दिइरहेका छौँ । तर, हामी अमेरिकी नागरिकले यी दायित्व अब महत्वपूर्ण छैन भन्छौँ भने हामीले झगडाको जोखिम मोल्दै छौँ । धेरै शरणार्थीलाई आवास दिनबाट वञ्चित गरेर अझै बढी अस्थिरता, घृणा र हिंसा सुनिश्चित गरिरहेका छौँ ।
यदि हामी मुसलमानलाई संरक्षण गर्न अयोग्य छन् भनेर दोस्रो दर्जाको शरणार्थीको तह सिर्जना गर्छौं भने हामीले देशबाहिरको अतिवादीको आगोमा घ्यू थपेका छौँ र स्वेदशमा डेमोक्र्याटिक र रिपब्लिकनले समान रूपले पक्षपोषण गरेको विविधताको आदर्श ‘अमेरिका संसारप्रति प्रतिबद्ध छ, किनकि धेरै संसार अमेरिकाभित्र छ’ लाई अवमूल्यन गर्दै छौँ । हामीले सीमाबाहिरका मानिसलाई विभाजन गर्नु भनेको हामी आफैँलाई विभाजन गर्नु हो ।
सेप्टेम्बर ११ देखि अतिवादीविरुद्धको लडाइँमा हामीले बिताएका वर्षहरूको पाठ के हो भने हरेकपटक हाम्रो मूल्य मान्यताबाट अलग हुँदा हामीले नियन्त्रण गर्न खोजिरहेको समस्यालाई झनै बिगार्दै छौँ । महान् सुरक्षाको खोजीको बहानामा हामीले हाम्रो मान्यतालाई आकस्मिक दुर्घटना हुन अनुमति दिनु हुँदैन ।
शरणार्थीका लागि ढोका बन्द गर्नु वा उनीहरूमाथि विभेद गर्नु हाम्रो बाटो होइन र यसले हामीलाई सुरक्षित बनाउँदैन । त्रासबाट प्रतिक्रिया लिनु वा काम सुरु गर्नु हाम्रो तरिका होइन । कमजोरलाई निशाना बनाएर शक्ति प्रदर्शन हुँदैन । हामी हाम्रो देश सुरक्षित राख्न चाहन्छाैँ ।
तसर्थ, अतिवादी धम्कीको स्रोतलाई हेर्नुपर्छ– स्लामिक स्टेटजस्ता अतिवादी समूहलाई स्थान र अक्सिजन दिने र उनीहरूको उद्धण्ड गतिविधिप्रति समयमै विचार पुर्याउनुपर्छ । समान खतराविरुद्ध लडिरहेका र समान सुरक्षा खोजिरहेका सबै धर्म र पृष्ठभूमिका मानिससँग साझा विषय बनाउनुपर्छ । यसरी नै हाम्रो महान् देशका जुनसुकै राष्ट्रपति सम्पूर्ण अमेरिकीको पक्षमा नेतृत्व गर्नेछन् भन्ने मलाई आशा लागेको छ । नयाँ पत्रिकामा खबर छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...