लोडसेडिङ अन्त्यका साथै यस्ता छन् पाँच फाइदा
दोलखा (खिम्ती)
२० माघ
नेपालमा पहिलो पटक २२० केभी विद्युत प्रसारण लाइनको उद्घाटन भएको छ । विहीवार दोलखाको खिम्तिमा आयोजित औपचारिक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो ।
प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यो आयोजना देश विकासको कोशेढुंगा सावित हुने बताउनुभयो ।
विद्युतीकरण नै नेपालको विकासको प्रमुख आधारशीला भएको उहाँको धारणा छ । “विद्युतीकरण नै नेपालको आर्थिक–सामाजिक विकास र राजनीतक स्थीरताको आधार हो ।” प्रधानमन्त्रीले भन्नुभयो “भारतले किन्दैन कि भनेर विद्युत उत्पादनको गति रोक्ने अभियानमा कतिपय मान्छेहरु लागेका छन्, त्यस्ता भ्रमको पछि नलाग्नुहोला ।”
विश्वको ध्यान अहिले पानीबाट विद्युत उत्पादन गर्नेतर्फ अघि बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले क्लीन इनर्जी र ग्रीन इनर्जीको विकल्पमा जलविद्युत इनर्जीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री प्रचण्डले अबदेखि जलविद्युत आयोजनाको संगसँगै प्रसारण लाईन निर्माणको कामलाई पनि तीब्रता दिने योजना सरकारले बनाएको उल्लेख गर्नुभयो ।
नेपाललाई लोडसेडिङमुक्त गर्ने अभियानको नेतृत्व गर्ने ऊर्जामन्त्री, राज्यमन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकलाई आफूले आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पछि नपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रसारण लाइन अन्तरदेशीय बिद्युत आयात–निर्यातको सेतुः उर्जामन्त्री
कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालको अलग थलग प्रसारण प्रणालीलाई एकीकृत प्रसारण लाइनको रुपमा अघि बढाएको बताउनुभयो । खिम्ती–ढल्केबर प्रसारण लाइनले अन्तरदेशीय बिद्युत आयात–निर्यातको सेतुको रुपमा काम गरेको उहाँको भनाई छ ।
तीन वर्षमा निर्माण हुने परियोजनामा १७ वर्ष किन लाग्यो भन्ने प्रश्न गर्दै मन्त्री शर्माले अबदेखि जलविद्युत आयोजना तथा प्रसारण लाइन आयोजनाहरुको सर्वे डिजाईनको काम एक वर्षभित्रै सम्पन्न गर्ने गरी नीति बनाउन लागिएको जानकारी दिनुभयो ।
उज्यालो अभियान कार्यक्रम देशमा लोडसेडिङ अन्त्य गर्ने अभियान मात्र नभई राष्ट्रलाई औद्योगीकरणको दिशामा अघि बढाएर समृद्ध नेपाल निर्माण गर्ने अभियान भएको मन्त्री शर्माले उल्लेख गर्नुभयो ।
नेपालको पानी जनताको लगानी कार्यक्रमले लगानीको प्राथमिकता नेपाली जनताकै हुनुपर्ने उद्देश्य राखेको भन्दै उहाँले लगानीको दोस्रो प्राथमिकता आन्तरिक ऋण र तेश्रो प्राथमिकतामा मात्र बैदेशिक लगानी भित्र्याउनुपर्ने धारणा राख्नुभयो ।
मन्त्री शर्माले लालपूर्जा बिना नै सुकुम्वासी र स्याउले झुपडीमा बस्ने नागरिकले पनि बत्ती बाल्न पाउने नीति ऊर्जा मन्त्रालयले बनाएको जानकारी दिनुभयो ।
जनकपुरको ढल्केबरदेखि दोलखाको खिम्तिसम्म ७४ किलोमिटर प्रसारण लाइनको सिङगल सर्किटको निर्माण सम्पन्न भएपछि यसको उद्घाटन गरिएको हो । २०६३ सालमा थालनी भएको खिम्ति–ढल्केबर प्रसारण लाईनको सिङगल सर्किट २०७३ माघमा सम्पन्न भएको हो । सर्वेक्षणदेखि हालसम्म १७ वर्ष लागेको छ । जग्गा अधिग्रहणमा स्थानीयको अवरोध र रुख कटानमा देखिएका विविध समस्याका कारण प्रसारण लाईन निर्माणमा ढिलाई भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
तीन वटा ठेकेदार कम्पनीले जिम्मा लिएको यस प्रसारण लाईन निर्माणमा १ अर्ब ९५ करोड खर्च भएको छ । खिम्ति–ढल्केबर प्रसारण लाईनको कुल क्षमता ७०० मेगावाट रहेको छ । एक सर्किटमा ३५० केभी पावर प्रसारण गर्न मिल्छ ।
खिम्ति–ढल्केवर प्रसारण लाईन सम्पन्न भएपछि काठमाडौं र पोखरामा लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण सहयोग पुग्नेछ । यस्तै बिरगञ्ज क्षेत्रमा देखिएको अस्थीर भोल्टेजको समस्या समाधान हुनेछ । यस प्रसारण आयोजनाले बिद्युतको माध्यमबाट तराई र पहाड जोड्ने काम गरेको छ । साथै यसले नेपाल र भारतबीच विद्युतको आयात निर्यातमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । यस प्रसारण लाइनले तामाकोशी करिडोरमा पिपिए भएका १८०० मेगावाट बराबरका जलविद्युत आयोजनाहरुको पावर फ्लो गर्न सहयोग पुग्नेछ ।
यस्तै यसले रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक र ओखलढुंगामा बन्ने जलविद्युत आयोजनाहरुको पावर प्रसारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । यस प्रसारण लाईन आयोजनाबाट १० मेगावाटसम्म विद्युत चुहावट नियन्त्रण गर्न सकिने प्राधिकरणले जनाएको छ । प्रसारण लाईन निर्माणको क्रममा २५ हजार रुख कटान गरिएको थियो भने ६ लाख २५ हजार बिरुवा रोपिएका छन् । यस्तै १०२ रोपनी जग्गा अधिग्रहरण गरिएको छ ।
Dainik Nepal

0 comments
प्रतिक्रिया दिनुहोस्...