गत ७ माघ बिहानैदेखि एउटा दुःखद खबरले सनसनी मच्चायो । झापाको कन्काई नगरपालिका–७ का अस्मिता तोलामी (सार्की) र सन्तोष भट्टराईले एउटै डोरीमा झुन्डिएर आत्महत्या गरेका थिए । केही वर्षदेखि प्रेमसम्बन्धमा रहेको जोडीलाई परिवारले छुटाउने कोसिस गरेपछि उनीहरूले सिसौको रूखमा पासो लगाएर आत्महत्या गरेका थिए ।
प्रहरीका अनुसार उनीहरू बिहान ५ बजे नै घरबाट निस्किएका थिए । पछि, २३ वर्षीया तोलामी र २५ वर्षीय भट्टराई सिसौको हाँगामा झुन्डिएको अवस्थामा फेला परे । केटाको परिवारले उनको विवाह अन्तै गरिदिने निधो गरेपछि दुवैले आत्महत्या रोजेका थिए । चुम्बन लिँदै उनीहरूले मृत्युवरण गरेका थिए । जुन कुनै काल्पनिक फिल्ममा देखिएको कारुणिक दृश्यजस्तो लाग्छ ।
भीरबाट हाम फालेर आत्महत्या
पाँच वर्षपहिले बाग्लुङमा एक अन्तरजातीय जोडीले आफ्नो प्रेम सफल नहुने ठानेर बीभत्स तरिकाले आत्महत्या गरे । बाग्लुङ भकुन्डेकी अमृता विक र पाङका श्रवण श्रेष्ठ करिब चार वर्षदेखि प्रेममा थिए । प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्ने सर्वणले परिवारमा गरेको प्रस्ताव अस्वीकृत भयो । त्यसपछि यो जोडी भकुन्डेस्थित चार सय मिटरभन्दा अग्लो दब्ल्याङ भीरमा पुग्यो । अनि त्यही भीरबाट हाम फालेर आफ्नो सच्चा प्रेमको दुःखद अन्त्य गर्यो । भीरबाट कालीगण्डकी नदीको किनारसम्म सँगै खसेको यो जोडीका माया गर्ने मस्तिष्क र मन छियाछिया बनेका थिए ।
जिल्लापारि सुसाइड नोट
भनिन्छ, प्रेमले त मान्छेलाई बाँच्न सिकाउँछ । तर, प्रेमकै कारण डोटीका ३२ वर्षीय कृष्ण कामी र डडेल्धुराकी ३० वर्षीया लक्ष्मीदेवी ओली पनि मृत्युवरण गर्न बाध्य भए । उनीहरूबीच प्रेमसम्बन्ध रहँदा लक्ष्मीदेवीको घरबाट अर्कै केटासँग विवाह गराइयो । तर, करिब तीन वर्षअघि कृष्ण र लक्ष्मीदेवी भागेर कञ्चनपुरमा रहेका आफन्तकहाँ पुगे । त्यहाँ पनि उनीहरूले सहज अनुभव गर्न सकेनन् । अनि, अन्तिम विकल्प रोजे– रूखमा एउटै डोरीको पासो लगाएर आत्महत्या गर्ने । उनीहरूको सुसाइड नोटमा लेखिएको थियो, ‘समाजले नस्विकार्दा हामीसँग मृत्युवरण गर्नेबाहेक अर्को विकल्प भएन ।’
बिहेपछि आत्महत्या
डडेल्धुरा सदरमुकम खलंगाकै सन्दीप जैरी (दमाईं)ले भागेश्वरकी एक शाहीलाई भित्रायाए । आर्थिक रूपमा पनि सम्पन्न भएका कारण सन्दीपले ती युवतीलाई भित्रायाउने आँट गरेका थिए । जब सन्दीपले परदेशको बाटो तय गरे, त्यसपछि युवतीले समाजबाट ठूलो मानसिक तनावको सामना गर्नुपर्यो । अनि उनले पनि आत्महत्या रोजिन् ।
आफैँलाई आगो लगाउनेहरू
पे्रममा परेका जोडी कतिसम्म क्रूर हुन सक्छन् भन्ने कुरा ०७१ सालको एक जोडीले गरेको आत्महत्याले देखाउँछ । झापाकै दमक–१५ को यो जोडी कोठामा सँगै आफ्नो शरीरमाथि आगो लगाएर खरानी भएको थियो । उनीहरूले विवाह गर्न खोज्दा परिवारले अस्वीकार गरेपछि आफ्नो शरीरमा आगो लगाएका थिए । तर, यी दुवैजना ब्राह्मण समुदायकै थिए ।
सँगै विष पिउँदा
०७१ कात्तिकमा एक प्रेमजोडीले झापाको तोपगाछी वनमा पुगेर विष सेवन गर्यो । मृत्युशैयामा छटपटाइरहेकी प्रेमिका जंगलबाट निस्किइन् । कसैले देखेर उनलाई बचाउन खोज्दा ती प्रेमिका चिच्याएकी थिइन्, ‘उहाँले पनि खानुभएको छ ।’ घटनास्थलमा गाउँले पुग्दा इलामको चुलाचुली गाविस घर भई दमक बस्दै आएका यादव कुमाल निर्जीव भइसकेका थिए । झापा स्थायी घर भई दमकमा बस्दै आएकी ती किशोरी भने उपचारपश्चात् बाँच्न सफल भइन् ।
०७१ फागुनमा दैलेख पानीपोखरीका १४ वर्षीय चेतन अधिकारी र भावना चापागार्इंले पनि आत्महत्या गरेका थिए । बिहे गरेर घर पुगेका उनीहरूलाई समाज र परिवारले अस्वीकार गरेपछि दुवैले झुन्डिएर मृत्युवरण गरे । कालिका–५ बर्दियाकी २६ वर्षीया गीता सार्की र कैलाली लम्की चुहा नगरपालिकाका भीमबहादुर सार्की पनि समाजको डरकै कारण लम्कीको मोहन्याल सामुदायिक वनसम्म पुग्न बाध्य भए । उनीहरूले जंगलको एउटा रूख रोजे र त्यसैमा झुन्डिन उपयुक्त ठाने ।
दबाबपछि गलपासो
०७१ कै जेठमा पनि झापाको सतासीधाम–५ मा उस्तै प्रकृतिको घटना घट्यो । प्रेममा परेकी युवतीलाई परिवारले सम्बन्धमा ब्रेक लगाउन दबाब दिएसँगै ती युवतीले गलपासो लगाइन् । प्रेमिकाको मृत्युपछि प्रेमी सरोज विकले एक्लै बाँच्ने कल्पना गरेनन् सायद । त्यसैले उनले पनि त्यसै दिन उसरी नै आत्महत्याको प्रयास गरे । तर, झुन्डिएको डोरी काटेर उनलाई
छिमेकीले बचाए ।
राज्यले अन्तरजातीय जोडीको संरक्षण गर्नुपर्छ
मोहना अन्सारी, प्रवक्ता,
राष्ट्रिय मानवअधिकार आयोग
समाजमा तल्लो जात, उपल्लो जात, धनी, गरिब भनेर विभेद गर्ने भावना नै मानवअधिकारको दृष्टिकोणले गलत हो । हामी एक–अर्कालाई सम्मान गर्ने मानवीय समानताका कुरा गरिरहेका हुन्छौँ । यस्ता व्यक्तिलाई समाज र राज्यले संरक्षण दिनुपर्दछ । यससम्बन्धी कानुन नै छ, त्यसलाई व्यावहारिक पालना गर्नुपर्दछ ।
यस विषयमा मानवअधिकार आयोगले तीन तरिकाले काम गरिरहेको हुन्छ । एउटा त तत्काल गर्नुपर्ने काम गर्छ । त्यसपछि कानुनी प्रक्रियामा जान्छौँ र स्थानीय समुदायमा स्थापित गर्न काउन्सिलिङ गर्छौं । तर, यसका लागि हामीकहाँ उजुरी आउन जरुरी छ । जस्तै, झापाको केसमा पछि हाम्रो विराटनगरकोे कार्यालयमा यससम्बन्धी गुनासो आएको भए यस्तो दुःखद घटना घट्ने थिएन होला । यस्ता विषयलाई राज्यले तत्काल सम्बोधन गर्न योजना पनि बनाउनुपर्छ ।
विभेदको पराकाष्ठा
मन्जित ताम्राकार, सदस्य,
राष्ट्रिय दलित आयोग
समाजको डरले आत्महत्या गर्ने जुन दुर्घटना भइरहेको छ, यो विभेदको पराकाष्ठा हो । नेपालमा अहिले पनि कति जघन्य खालको विभेद छ भन्ने कुरा यस्ता घटनाले पुष्टि गर्छन् । यस विषयमा राष्ट्रिय दलित आयोगले घटनाको अनुगमन र विश्लेषण गर्ने गर्छ । यस्तो घटना दोहोरिन नदिन समाजको मानसिकतामै परिवर्तन आउन जरुरी छ ।
उनले सम्बन्धमा आउने उतारचढावले युवायुवतीमा निराशा बढ्दा आत्महत्या गर्ने क्रम बढेको बताए । ‘प्रेम, उमेर र कर्तव्यबारे युवापुस्तालाई नैतिक शिक्षा दिन आवश्यक भइसक्यो,’ उनले भने ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...