नुवाकोट,२५ माघ । पुनःनिर्माणमा सर्भे गर्न खटिएका सरकारी इन्जिनियर नुवाकोटमा घुस लिँदालिँदै गाउँलेद्धारा रंगेहात समातिएका छन् । बेल्कोट गाविसका लागि खटाइएका प्रविणकुमार श्रीवास्तव नामका इन्जिनियरले भूकम्पपीडितसँग घुस लिदालिँदै पक्राउ परेका हुन् ।
बेलकोटका करिब दुईसय गाउँलेहरुगाउँलेहरुले रंगेहात समातिएका श्रीवास्तवलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाएका छन् । गाउँलेहरुका अनुसार घर बनाउन पहिलो किस्ता ५० हजारको काम सकिसकेका भूकम्पपीडितलाई दोस्रो पाउन भूकम्पप्रतिरोधी रहेको प्रमाणित इन्जिनियरबाट गराउनुपर्ने हुन्छ । अर्को किस्तावापतको डेढ लाख रुपैयाँ अनुदान रकमका लागि सिफारिस गर्न गाउँमा सर्भेमा गएका इन्जिनियर श्रीवास्तवले पैसा दिएमा मापदण्ड नपुगेका घरलाईसमेत पास गरिदिने भन्दै भूकम्पपीडितसँग रकम असुल्दै हिँडिरहेका थिए ।
सोही क्रममा बेल्कोट–३ का बद्री तिवारीसँग पाँच हजार लिइरहेको समयमा इन्जिनियर रंगेहात समातिएका हुन् । कतिपयको घर निर्माणमा मापदण्ड पुगेकालाईसमेत नपुगेको भन्दै घुस लिँदै दुःख दिएको स्थानिय नवराज बताए । ‘पैसा दिए जस्तो घर पनि पास गरिदिन्छु, नत्र गर्दिन । दोस्रो किस्ताको अनुदान रकम रोकिदिन्छु भन्दै धेरै गाउँलेसँग घुस लिइरहेको भेट्यौ र प्रशासनमा बुझायौँ’, उनले भने ।
स्थानियको सहयोगमा जिल्ला प्रशासन कार्यालयसमक्ष घुस लिएको आरोपमा बुझाइएको भएपनि प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले भने इन्जिनियरले बदमासी गरे नगरेको छानविन गरिने बताए । तर, सम्झौता नगरी आफूखुसी घर निर्माण भएको घरलाई अनुदान लिन योग्य बनाउन इन्जिनियरलाई दबाब पनि भएको देखिएको उनले बताए । घटनाबारे वास्तविकता बताउँदै पोखरेलले भने, ‘त्यही घर पास गर्ने–नगर्ने विषयमा मतभेद भएको देखिन्छ ।’
यता, स्थानियहरुले भने प्रमुख जिल्ला अधिकारीले पीडितको न्याय नगरी घुस असुल्ने इन्जिनियरको बचाउ मात्रै गरिएको आरोप लगाएका छन् । ‘सिडियोले घुस लिँदालिँदै समातेर सम्बन्धित निकायमा बुझाएकोमा गाउँलेहरुलाई धन्यवाद दिनुपर्नेमा सिडियोले उजुरीसमेत लिन मानेनन्’, स्थानिय राजकुमार रेग्मीले गुनासो गरे । दियोपोष्टबाट साभार !


0 comments
प्रतिक्रिया दिनुहोस्...