-->
राष्ट्रिय पर्यटन प्रर्वद्धन, कृषि तथा औद्योगिक व्यापार मेला सुरु

भैरहवाः राष्ट्रिय पर्यटन प्रर्वद्धन, कृषि तथा औद्योगिक व्यापार मेला भैरहवामा सुरु भएको छ । सिद्धार्थ होटल एसोसिएसन नेपाल (सान) र रुपन्देही क्रिकेट संघ (कार) को संयुक्त आयोजनामा मंगलबारबाट भैरहवामा मेला सुरु भएको हो ।
पर्यटन तथा व्यापार मेलाको शुभारम्भ गर्दै आपूर्तिमन्त्री दीपक बोहराले भैरहवामा मेला तथा महोत्सव सञ्चालनका लागि स्थायी मण्डप अभाव भएकाले त्यसको व्यवस्था गर्ने आश्वासन दिए ।
मन्त्री बोहराले औद्योगिक तथा व्यापारिक संघ–संस्थासँग छलफल गरेर सबैको सल्लाह र सहकार्यमा उचित स्थानको खोजी गरी छिट्टै स्थायी प्रदर्शनीस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विगतमा महोत्सव हुँदै आएको सिद्धार्थ रंगशालामा अहिले अन्तर्राष्ट्रिस्तरको क्रिकेट मैदान निर्माण हुँदैछ । मन्त्री बोहराले भैरहवा क्षेत्र आर्थिक र पर्टकीय क्षेत्र भएको भन्दै यहाँको थप विकासमा आफू लागिरहने बताए ।
“भैरहवा देशकै आर्थिक एवं पर्यटकीय मेरुदण्ड हो, भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो, त्यसैले हामीले बुद्ध र त्यससँग जोडिएका क्षेत्रहरूको प्रसार–प्रसार गरी यो क्षेत्रलाई देशकै आर्थिक तथा पर्यटकीय हव बनाउनुपर्छ,” उनले भने ।
कार्यक्रममा सिद्धार्थ होटल एसोसिएसन नेपाल (सान) का अध्यक्ष तथा मेला मूल आयोजक समिति संयोजक चन्द्रप्रकाश श्रेष्ठले भैरहवा आर्थिक तथा पर्यटकीय क्षेत्र भएकाले यहाँको पर्यटन तथा आर्थिक क्षेत्रलाई निरन्तर चलायमान राख्नका लागि आफूहरूले क्रिकेट संघसँग मिलेर छोटो समयमै मेला आयोजना गरेको बताए ।
उनले विगतमा भूकम्प, भारतीय नाकाबन्दी, मधेस आन्दोलनका कारण रुपन्देही असुरक्षित भएको प्रचार भएकाले त्यसलाई चिर्न मेला आयोजना गरिएको जानकारी दिए ।
“नेपाल घुम्न असुरक्षित छ भनेर प्रचार–प्रसार भएका कारण लामो समय पर्यटकीय क्षेत्र धरासायी बन्दै गएकाले त्यसलाई चलायमान गराउन मेला आयोजना गरिएको हो,” उनले भने ।
पर्यटनविद् तथा नेपालका लागि ग्रिसका अवैतानिक महावाणिज्यदूत एवं लुम्बिनीका सद्भावनादूत विक्रमकाजी पाँडेले लुम्बिनीको प्रवेशद्धार रहेको भैरहवा सम्भावनायुक्त क्षेत्र भएको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले आर्थिक तथा पर्यटकीय गतिविधि बढ्दै गइरहेका भैरहवामा स्थायी मण्डप नहुनु दुर्भाग्य भएको भन्दै सबै मिलेर स्थायी प्रदर्शनीस्थल निर्माण गर्नुपर्नेमा जोड दिए ।
‘आन्तरिक पर्यटन प्रवद्र्धन गराँं, घुमफिर वर्ष २०१७ सफल पारौं’ भन्ने नारासहित सान र कारले पहिलो पटक आयोजना गरेको मेलामा कृषि, घरेलु तथा औद्योगिक उत्पादन, अटोमोबाइल्स, पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि आकर्षक मायादेवी मन्दिरको पेभेलियनमा फोटो प्रदर्शनी, डन्डा खोलामा बोटिङको व्यवस्था गरिएको छ ।
त्यस्तै हस्तकला, तयारी पोशाक, खाद्यान्न, अटोमोबाईल्स, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि रेस्टुरेन्ट, ऊँट नाच, अष्ट्रिच, विद्युतीय सामग्री, छाला जुत्तालगायतका गरी २ सय ४२ स्टल राखिएको मेला आयोजक समितिका सहसंयोजक प्रशान्तविक्रम मल्लले जानकारी दिए । मेला फागुन ७ गतेसम्म चल्नेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.