-->
रगत के हो ?

रगतबाट मानव शरीरका सबैतिर रहेका कोषहरुमा आवश्यक पौष्टिक पदार्थ, अक्सिजन लगायतका पदार्थ पुग्ने गर्छन् । रगतले शरीरका हरेक अंगलाई आवश्यक पर्ने पौष्टिक तत्व ढुवानी गर्ने काम गर्छ । तर, विभिन्न कारणले मानव शरीरमा रगतको अभाव हुने गर्छ । यस्तो बेला अरुबाट रगत निकालेर लिन सकिन्छ ।
मानव शरीरका अंग प्रत्यारोपण जस्तै रगत निकाल्ने र दिने प्रक्रिया पनि एउटा प्रत्यारोपण नै हो । कुनै पनि ठोस अंगलाई एउटा व्यक्तिबाट अर्कोमा सार्दा अंग प्रत्यारोपण भनिन्छ भने रगत तरल अवस्थामा हुने भएकाले रक्तप्रसार एवं बोलीचालीको भाषामा रगत दान भन्ने गरिन्छ । वैज्ञानिकहरुले हालसम्म कृत्रिम रगत बनाउन सकेका छैनन्, जसले गर्दा एक व्यक्तिबाट रगत निकालेर अर्को व्यक्तिलाई दिनुको विकल्प छैन ।
एउटा स्वस्थ व्यक्तिबाट लिइएको रगतलाई प्राविधिक रुपमा परीक्षण गरी आवश्यकता अनुसार बिरामीलाई उपलब्ध गराइन्छ । नेपाल रेडक्रस सोसाइटीले देशभर यो सेवा आफ्ना ब्लड बैंकमार्फत उपलब्ध गराइरहेको छ । शल्यक्रियाका क्रममा, दुर्घटना वा चोटपटकमा, सुत्केरी गराउँदा, विभिन्न रोग (पेप्टिक अल्सर, कलेजो र फोक्सोका रोगहरु) का बिरामीलाई रगत आवश्यक पर्छ । यस्तै, क्यान्सरका रोगीहरु, रगतसम्बन्धी रोगहरु (हेमोफेलिया, एनिमिया, थेलेसिमिया) भएका बिरामी, जलेका बिरामीलाई पनि रगत दिनुपर्नेहुन्छ ।
रगतमा हुने तत्वहरुको काम फरक–फरक हुन्छ । रातो रक्तकोषले फोक्सोबाट अक्सिजनलाई शरीरका कोषहरुमा पु¥याउने र कोषबाट कार्बनडाइअक्साइड फिर्ता ल्याउने काम गर्छ । सेतो रक्तकोषले रोगसँग लड्ने र शरीरको प्रतिरक्षा गर्छ । यस्तै, प्लेटलेट्सले रक्तस्राव भएमा रगत जमाउन मद्दत गर्छ । रगत नभएमा मानव मस्तिष्क ४ मिनेटमा र मुटु ६ घण्टामा निस्क्रिय हुन्छ ।
कसरी बनेको हुन्छ रगत ?
रगतमा विभिन्न ‘कम्पोनेन्ट’हरु हुन्छन् । रगतमा सेल (कोष) हरुको हिस्सा करिब ४५ प्रतिशत हुन्छ भने बाँकी प्लाज्मा (विभिन्न खालका तरल पदार्थ) हुन्छ । ब्लड बैंकले सेल पार्ट मात्रै चाहिने बिरामीका लागि सेल पार्ट उपलब्ध गराउँछ । प्लाज्मा चाहिनेलाई प्लाज्मा । छुट्टै स्पेसन मेसिनहरुबाट ती पार्टलाई छुट्याइन्छ । त्यसका लागि विभिन्न प्राविधिक चरण पार गर्नुपर्ने हुन्छ । रगतको सेलहरुमा राता रक्तकोष (रेड ब्लड सेल– आरबिसी), सेता रक्तकोष (ह्वाइट ब्लड सेल– डब्लुबिसी), न्युट्रोफिल, इओसिनोफिल, बेसोफिल, मोनोसाइट र लिम्फोसाइट हुन्छन् । त्यसैगरी, प्लेटलेट्स पनि सेलहरुमै हुन्छ ।
प्लाज्मामा पानी, खनिज जस्ता तरल पदार्थका साथै प्रोटिक, अलब्लुमिन, ग्लोब्युलिन, फिब्रिनोजिन, क्लौटिङ जस्ता पदार्थ हुन्छन् । मानिसको शरीरको हड्डीभित्र हुने मासी (बोनम्यारो) मा रगत बन्दछ । रगत बनाउन आइरन, फोलिक एसिड लगायतका भिटामिनहरु आवश्यक पर्छ ।
ब्लड बैंकमा रगत लिन आउनेहरुले बोलिचालीको भाषामा ह्वाइड ब्लड र रेड ब्लड माग्छन् । आरबिसी भएको रगत नै रेड ब्लड हो । अस्पतालहरुले त्यसलाई ‘ब्याकसेल’ भनेर सिफारिस गर्छन्, जसमा आरबिसी कन्टेन्ट हुन्छ ।
आरबिसी निकालिएको ब्लड ‘प्याक सेल’मा गएको हुन्छ । बाँकी बँचेको प्लाज्मालाई ‘ह्वाइट ब्लड’ भनेर बुझिन्छ । त्यसमा धेरै कम्पोनेन्ट हुन्छन्, बिरामीलाई आवश्यक पर्ने अवस्थामा ब्लड बैंकले ती कम्पोनेन्ट निकालेर उपलब्ध गराउँछ ।
अर्को कम्पोनेन्ट भनेको ‘होल ब्लड’ हो । एउटा रक्तदाताबाट सिंगल ब्यागमा लिइएको ३५० मिलिलिटरको रगत नै होल ब्लड हो । त्यसबाट कुनै पनि कम्पोनेन्ट निकालिएको हुँदैन । जसरी रगत निकालिएको हुन्छ, सबै कन्टेन्ट त्यसमा रहन्छ ।
डा. प्रकाश यादव
रगतको समूहकरण किन ?
रगतलाई विभिन्न समूहमा विभाजन गरिएको हुन्छ । मेडिकल अनुसन्धानले रगतलाई दुई आधारमा विभाजन गरेको छ । एउटा एबिओ र अर्को आरएच । एबिओमा चार वटा रक्त समूह हुन्छन्, ए, बि, ओ र एबी । र, आरएचमा पोजेटिभ र नेगेटिभ हुन्छ । यी चारै वटा समूहको पोजेटिभ र नेगेटिभ हुन्छ । यसरी हेर्दा, हामीले रगतलाई आठ वटा समूहमा विभाजित भएको पाउँछौं । हामी जति पनि व्यक्ति छौँ, यही आठ वटा समूहमा परेका हुन्छौँ ।
कसैले आफ्नो रगत समूह एबी पोजेटिभ भन्छ भने एबी भन्ने शब्दाबली एबिओ सिस्टमबाट आएको हो भने पोजेटिभ भन्ने शब्दाबली आरएच सिस्टमबाट आएको हो । त्यसैले बिरामीको रगत ए पोजेटिभ छ भने उनीहरुलाई ए पोजेटिभ रगत नै दिनुपर्छ ।
बिरामीलाई कुनै किसिमको खतरा नहोस्, रक्त प्रसारमा कुनै समस्या नआओस, त्यो रगतलाई राम्रोसँग शरीरले स्विकार गर्न सकोस् भनेर यसो गरिएको हो । त्यसैले समूहगत रुपमा रक्तदान र प्रसारको अवधारणा आएको हो ।
कुनै बिरामीलाई फरक समूहको रगत दान गरियो भने त्यो म्याच नभई रियाक्सन हुन सक्छ । उसको शरीरले रगत स्विकार गर्दैन र क्षति हुन सक्छ । हेमोग्लोविनहरु फुट्ने अवस्था आउन सक्छ । रगत म्याच नगरे हेमोलाइसिस भएर बिरामीलाई जन्डिस हुन सक्छ । कतिपय अवस्थामा एनाफिलाटिक स्ट्रोक भएर मानिसको ज्यानै जाने हुन सक्छ ।
हामीकहाँ ‘युनिभर्सल डोनर’ र ‘युनिभर्सल रिसिपिएन्ट’को अवधारणा पनि छ । त्यो अवधारणा अनुसार निश्चित समूहको रगत अरुलाई दिन मिल्छ भने निश्चत समूहकाले अरु कसैको पनि लिन मिल्छ । तर, रक्त प्रसारमा भने सकभर र जसरी पनि उही समूहको रगत उपयुक्त मानिन्छ । आकस्मिक र कठिन परिस्थितिमा मात्रै बिरामीको रगतको समूह नमिले युनिभर्सल डोनर र युनिभर्सल रिसिपिएन्टको सिद्धान्त लागू गरिन्छ । तर त्यसका लागि पनि चिकित्सकहरुको सिफारिस भने अनिवार्य छ । तर, अरु सामान्य अवस्थामा उही समूहकै रगत दान गर्ने गरिन्छ ।
हामीले रगत दिने बेलामा ‘क्रस म्याच’ गर्छौं । त्यो भनेको बिरामीको रगत र दाताले दिने रगतको नमूना म्याचिङ हो । परीक्षणकै क्रममा म्याच भएन भने रगत दिन मिन्दैन । किनभने भोलि बिरामीको शरीरमा पुगेपछि नकारात्मक प्रतिक्रिया हुन्छ र बिरामीको ज्यान पनि जान सक्छ । उही समूहलाई रगत दिँदा पनि हामीले क्रस म्याच गर्नैपर्छ ।
कस्तो रगतको सिफारिस ?
कहिलेकाहीँ डाक्टरले ‘फ्रेस ब्लड’को सिफारिस पठाएका हुन्छन् । निकालेको ६ घण्टाभित्रको अवस्थालाई ‘फ्रेस ब्लड’ मानिन्छ । डाक्टरले बिरामीलाई ६ घण्टाभित्र रगत लिएर आउनु भनेर पठाएपछि काठमाडौँको जाम, धुलो, अस्तव्यस्ततामा दौडेर आफन्त ब्लड बैंकमा आइपुग्छन् । उसले भनेको बेलामा उही समूहको रगत, त्यो पनि तत्काल निकालेको अवस्थाका पाउन निकै कठिन पर्छ । ब्लड बैंकमा स्टोरेज गरिएको रगत मात्रै सहजै पाइन्छ । चाहिएको समूहको रगत त्यो पनि तत्काल दाताबाट निकालेर दिने कुरा सितिमिति सम्भव हुँदैन । त्यसैले व्यावहारिक रुपमा कहिलेकाहीँ बिहान निकालेको रगत दिनभर पनि फ्रेस नै मानेर दिनुपर्ने अवस्था छ । बिरामीलाई आवश्यक पर्नासाथ उही समूहको दाता खोज्नु, रगत निकाल्नु, बिरामीको आफन्तले त्यसलाई अस्पतालमा लगेर ६ घण्टाभित्र बिरामीलाई दिनु निकै चुनौतीपूर्ण काम हो ।
निरन्तर रक्तस्राव भइरहेको बिरामीलाई प्रायः फ्रेस ब्लड माग गर्ने चलन छ । किनकि फ्रेस ब्लडमा सबै कम्पोनेन्टहरु उपलब्ध हुन्छन् । सबै कम्पोनेन्टयुक्त रगतमा रहेको प्लेटलेट्सले पनि काम गर्छ, प्लाज्मा पनि सहज रुपमा उपलब्ध हुन्छ । प्रोटिन र फाइब्रोजिनहरु पनि सहज रुपमा उपलब्ध हुन्छ । एउटै युनिटबाट धेरै कम्पोनेन्ट पाउने भएकाले कतिपय क्रिटिकल अवस्थाका बिरामीका लागि फ्रेस ब्लड खोजिन्छ ।
रगतको निश्चित आयु हुन्छ । आरबिसीको आयु करिब ३ महिना हुन्छ भने डब्लुबिसीको केही घण्टादेखि एक सातासम्म हुन्छ । प्लेटलेट्सको आयु पनि केही दिन मात्रै हुने भएकाले आयु नसकिँदै स्टोरेज गरेका रगतका कम्पोनेन्ट माग अनुसार बिरामीलाई उपलब्ध गराइन्छ । फ्रेस बाहेकको अवस्थामा कम्पोनेन्ट थेरापीमा गइसकेपछि भने बिरामीलाई जुन खालको तत्व चाहिने हो, त्यही मात्र दिने चलन हुन्छ । यसले गर्दा अरु कम्पोनेन्टको वचत हुन्छ र अन्य बिरामीका लागि उपयोग गर्न सकिन्छ ।
रगतको कुनै कम्पोनेन्ट मात्रै माग हुन्छ भने बिरामीको केसका आधारमा डाक्टरहरुले निर्णय गरेर सिफारिस गर्छन् । उदाहरणका लागि कलेजोसम्बन्धी रोगहरुमा प्लाज्माको माग बढी हुन्छ । रगत सम्बन्धी रोगहरु थालेसेमिया, एनेमिक पेसेन्टहरुको केसमा आरबिसीको माग बढी हुन्छ । हेमोफेलियामा क्रायोको माग बढी हुन्छ । जलेको÷पोलेको केसमा प्लाज्माको माग हुन्छ । तर यसमा सिफारिसको निर्णय चिकित्सकहरुकै हुन्छ ।
रक्तदान : आवश्यकता, भ्रम र यथार्थ
मानव शरीरमा रगत नश्चित अनुपातमा हुन्छ । पुरुषमा प्रतिकेजी ७६ मिलिलिटर र महिलामा प्रतिकेजी ६६ मिलिलिटर रगत हुन्छ । साथै, हरेक मानिसलाई प्रतिकेजी ५० मिलिलिटर रगत भए पर्याप्त हुन्छ । प्रतिकेजीमा पुरुषमा २६ मिलिलिटर र महिलामा करिब १६ मिलिटिर रगत जगेडामा हुन्छ । तसर्थ, एउटा स्वस्थ व्यक्तिले प्रतिकेजीमा ८ मिलिलिटर रगत दान गर्दा फरक पर्दैन भन्ने मान्यता छ । रगतदानका लागि कम्तिमा ४५ केजी तौल हुनु अनिवार्य छ ।
रक्तदानसँग जोडिएका विभिन्न भ्रम छन् । तिनै भ्रमका कारण धरै मानिस रगत दान गर्न हच्किन्छन् । तर, रक्तदानसँग सम्बन्धि अफवाहसँग रगतदान गर्ने व्यक्ति डराउनुपर्दैन । ब्लड बैंकले मेडिकल साइन्सले प्रमाणित गरिसकेको प्रक्रियाहरुलाई अपनाएर, परीक्षण गरेर स्वस्थ व्यक्तिबाट मात्रै रगत निकाल्ने काम गर्छ । जाँच प्रक्रियामा सफल नहुनेबाट ब्लड बैंकले रगत निकाल्ने काम गर्दैैन । त्यसैले कुनै व्यक्तिलाई रगतदान गर्न डराउनुपर्ने आवश्यकता छैन ।
रगतदान गरेपछि कमजोर भइन्छ, रगतदाता दुब्लाउँछन् भन्ने गरिएको पनि सुनिन्छ । कतिपय मानिस आफ्नै विवेकले मसँग पर्याप्त रगत छैन भनिरहेका हुन्छन् । यी भ्रमहरु हुन् । रगत निकाल्न मिल्ने अवस्था नभए स्वास्थ्यकर्मीले नै रगत निकाल्दैनन् । रगतदानका लागि व्यक्ति सक्षम छैन भने उनीहरुले जति इच्छा गरे पनि रगत निकालिँदैन । आफैँले म कमजोर छु भन्नु एउटा पाटो होला, तर म कमजोर छु, रगत दिन मिल्दैन भनेर कसैले भन्छ भने, त्यसमा सत्यता छैन । आफ्नो मनमा लागेको कुरा मान्ने कि विज्ञानले प्रमाणित गरेको तथ्यलाई मान्ने, त्यो रगतदाताको निर्णयको विषय हो । व्यक्ति सक्षम भए पनि उसले स्विकृति बिना रगत निकाल्न मिल्दैन ।
स्वस्थ्य व्यक्तिले १८ वर्षदेखि ६० वर्षको उमेरमा जहिले पनि रगतदान गर्न सक्छन् । हरेक ३–३ महिनाको फरकमा रगतदान गर्न सकिन्छ । कोही रोगबाट ग्रसित छन् भने रगत निकाल्न सकिँदैन । उपचार र औषधि सेवन गरिरहेका व्यक्तिको पनि रगत निकाल्न मिल्दैन ।
रगत किन र कहाँ दिने ?
आफूलाई आवश्यक परेको बेला अरुले स्वयंसेवी रुपमा प्रदान गरेको रगत नै काम लाग्ने भएकाले आफू पनि सक्षम हुँदा रगतदान गर्नुपर्छ । त्यसैले रगतदानलाई जीवनदान भनिएको हो । रक्तसञ्चार सेवाको ललितपुरस्थित बालकुमारी कार्यालयमा जुनसुकै व्यक्तिले जतिबेला आएर पनि रगत दिन सक्छन् । साथै, विभिन्न अवसरमा रक्तसञ्चार सेवाले मोबाइल क्याम्प सञ्चालन गरेको हुन्छ । त्यस्ता अवसरबारे केही दिनदेखि नै प्रचारप्रसार हुने भएकाले इच्छुकहरुले त्यहाँ पनि रगत दिन सक्छन् । कतिपय सामाजिक संघसंस्थाले रक्तदानका कार्यक्रमहरु राखेका हुन्छन्, त्यहाँ गएर पनि रगत दान गर्न सकिन्छ ।
(केन्द्रीय सक्तसञ्चार सेवाका उप–निर्देशक यादवसँगको कुराकानीमा आधारित । यादव इन्टरनल मेडिसिन÷रिमाटोलोजीमा एमडी हुन् ।)


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.