काठमाडौँ । साउदी अरबको जेद्दास्थित जेलमा सात वर्ष विनाकारण कैद सजाय भोगेर फर्किएका १० युवाले मंगलबार बालुवाटरमा पीडा सुनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भावुक बने। उनीहरूले खेप्नुपरेको दुःख–कष्ट र शारीरिक यातनाको फेहरिस्त सुन्दै गर्दा प्रचण्डले उनीहरूलाई आश्वस्त बनाउन खोजे। तर, उपयुक्त शब्द फेला पार्न सकेनन्। केहीबेर अड्किँदै उनले भने, ‘अब म तपाईंहरूलाई के भनौँ, सम्झनुस् तपाईंहरूको माग पूरा गर्न म गम्भीर छु।’
यसै क्रममा पीडित भीमप्रसाद चिमोरियाले कहानी सुनाए- २०६० सालमा साउदी पुगेको हुँ। कुन मेनपावरबाट गएँ नाम बिर्सिएँ। अफिस सेक्रेटरी भनेर मलाई साउदी लगियो। तर, काम भने लेबरको गर्नुपर्यो। काम मन परेन। कम्पनी छाडेँ। अर्कैमा काम सुरु गरेँ। तलब राम्रै थियो। काम पनि ठीकै थियो। दुई वर्ष काम गरेँ। ऋण सबै तिरेँ। अलिअलि पैसा जोगिएको पनि थियो। घर फर्कन मन लागेपछि त्यसैको तयारीमा जुटेँ। २०१० को फेबु्रअरी महिना हो। दिन मैले बिर्सिएँ। म साथीको कोठामा थिएँ। रातको ११ बजे प्रहरीले छापा मार्यो।
म पक्राउ परेँ। प्रहरीले हिरासत कक्षमा लग्यो। सोधपुछ गर्यो। कागजातमा हस्ताक्षर गर्न लगायो। अब छोड्ला भन्ने लागेको थियो। तर, जेलमा पो लगेर गयो। त्यसपछि बल्ल पो थाहा भयो, मलाई कसैको हत्या गरेको आरोप लागेको रहेछ। प्रहरीले बयान लियो। मैले घटना अस्वीकार गरेँ। उसले यातना दिन सुरु गर्यो। पैताला फर्काएर कुट्न थाल्यो। करेन्ट लगाउन सुरु गर्यो।
म बेहोस भएँ। होस खुल्दा म कुनै अञ्जान कोठामा हुन्थेँ। यातना फेरि सुरु हुन्थ्यो। यसरी यातना भोग्ने मजस्तै अरू १० नेपाली पनि थिए। उनीहरू र मलाई लगाइएको आरोप एउटै थियो। त्यसमध्ये एकजनाको यातनाकै कारण मृत्यु भयो। उनको लास अझै पनि बेपत्ता छ। अदालतले पाँच वर्ष कैद सजाय तोकेछ। अदालतको फैसला विनाकसुर थियो। मैले दूतावासमा सम्पर्क गरेँ। तर, कुनै सहयोग भएन। दिन बित्दै गए। अदालतले फैसला गरेको कैद सजाय अवधि पनि सकियो। तर, प्रशासनले छाडेन। दूतावासमा खबर गर्यौँ, तर कोही भेट्न आएनन्। हामीलाई लाग्यो– जीवन अब यति नै रहेछ। यसरी सात वर्ष बित्यो।
दूतावासको सम्पर्क भने टुटेको थिएन। पछिल्लोपटक भने दूतावासको संरचना फेरिएछ। हामीलाई छुटाउन पहल गर्यो। उसैको पहलमा डेढ महिनाअघि हामी नेपाल फर्कन सफल भयौँ।

0 comments
प्रतिक्रिया दिनुहोस्...