हरेक परिवारमा विशेष गरेर, नेपाल, भारत एवं यसको प्रभाव परेको भेगमा घरमा बच्चा जन्मिनासाथ मातापिता एवं हजुरबा–हजुरआमामा एउटा खुल्दुली पैदा हुन्छ कि बच्चा, के–कस्तो योगमा जन्मियो । यसको लागि निश्चय नै ज्योतिष कहाँ जाने प्रचलन छ । यसमा शुभयोगदेखि विभिन्न कुयोगहरू पनि पर्दछन् । यहाँ हामी नक्षत्र एवं तिथिको आधारमा पर्ने विभिन्न कुयोगको जानकारी दिँदैछौँ, जसमा तिथि गण्ड, नक्षत्र गण्ड एवं लग्न गण्ड पनि पर्दछन् ।
प्रायः व्यक्तिको जन्म कुण्डलीमा विभिन्न ग्रहको सम्बन्धबाट राजयोग महापुरुष योग बनेको हुन्छ । तर, उसको जीवनमा त्यस्तो कुनै विशिष्टता भने देखिँदैन । किनक ती व्यक्तिहरू विभिन्न गण्डमूलमा परेका हुन्छन् । तर, त्यसतर्फ ज्योतिषीले ध्यान गएको हुँदैन र ऊ पनि तीन छक्क पर्दछ कि किन राजयोगको फल मिलिरहेको छैन ।
गण्डमूल नक्षत्र
जब कुनै राशिको आरम्भ कुनै नक्षेत्रको प्रथम चरणबाट हुन्छ भने त्यस सम्पूर्ण नक्षेत्र गण्डमूल मानिन्छ, जस्तो कि अश्विनी, मघा र मूल त्यसैगरी, जुन नक्षेत्रको अन्तिम चरणमा राशि समाप्त हुन्छ, त्यो सम्पूर्ण नक्षेत्र पनि गण्डमूलमा पर्दछन् । जस्तो कि अश्लेषा, ज्येष्ठा र रेवती यसलाई शास्त्रीय नाममा गण्डान्त पनि भनिन्छ । गण्डको मतलब हो ‘निकृष्ट’ । तिथि, नक्षेत्र र लग्नको भेदले तीन प्रकारको गण्डान्त हुन्छन् ।
तिथि गण्डान्त
परेवा, षष्ठी एवं एकादशी (नन्दा तिथि) को प्रारम्भको एक घडी (२४–२४ मिनेट) र दशमी, पञ्चमी तथा पूर्णिमाको अन्तिम एक घडी (२४–२४ मिनेट) लाई गण्डान्त मानिन्छ ।
नक्षेत्र गण्डान्त
रेवती र अश्विनी एवं जेष्ठा, मूल अश्लेषा, मघा नक्षेत्रमा सन्धिकालको चार घडी (४८–४८ मिनेट) लाई नक्षेत्र गण्डान्त भनिन्छ ।
लग्न गण्डान्त
कर्कट, वृश्चिक एवं मीन लग्नको अन्तिम आधा घडी (१२–१२ मिनेट) तथा सिंह धनु, र मेष लग्नको प्रारम्भको आधा घडी (१२–१२ मिनेट) को समयलाई लग्न गण्डान्त भनिन्छ ।
यी गण्डान्तमा पनि जेष्ठा नक्षेत्रको अन्तिम आधा घडी र मूल नक्षेत्रको प्रारम्भको आधा घडी, कुल एक घडी (२४ मिनेट) को समयलाई ‘अभूक्त मूल’ मानिन्छ । मतान्तरमा जेष्ठाको अन्तिम एक घडी र मूलको प्रारम्भको दुई घडीलाई ‘अभुक्त मूल’ मानिएको पाइन्छ । यस समयमा जन्मिएका बच्चालाई विशेष अरिष्ट मानिएको छ । अश्लेषा, मघा मूल रेवती नक्षेत्रको प्रथम चरण, प्रहरमा जन्मिएको बालकको लागि अरिष्ट मानिएको छ । अश्विनी नक्षेत्रको गण्डदोषमा १६ वर्ष, मघाको ८ वर्ष, मूलको ४ वर्ष, अश्लेषाको २ वर्ष, जेष्ठाको १ वर्ष र रेवतीको १ वर्ष पर्यन्त अरिष्ट फलको डर रहिरहन्छ । गण्डमूलमा पैदा भएमा शान्ति गराउनुपर्दछ । गण्डमूल नक्षेत्रको शान्ति, जब चन्द्रमा त्यही नक्षेत्रमा २७ दिनपछि आउँदछ, तब स्नान गरी विधिपूर्वक जप, हवन गर्नुपर्ने हुन्छ । गण्डमूल नक्षेत्रको ज्ञान गर्न विभिन्न तथ्यहरूलाई पनि ध्यानमा राख्नुपर्दछ किनकि ज्योतिष एक अति जटिल विषय हो ।
-(ज्योतिष म्यागेजिनबाट)
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"

0 comments
प्रतिक्रिया दिनुहोस्...