कैलाली जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्षको तुलनामा सम्बन्धविच्छेद गर्नेको संख्या २५ प्रतिशतले बढेको छ । वैवाहिक सम्बन्धमा समस्या र व्यक्तिगत स्वतन्त्रताको अति उपभोग गर्न खोज्दा परिवार विखण्डनका घटना बढेका छन् ।
जीवनभर एकअर्काको साथ दिने कसम खाएर एकआपसमा बाँधिएका जोडी ससाना वादविवादमै सदाका लागि छुट्टिने निर्णयमा पुग्न बेर लगाउदैंनन् । व्यक्तिगत महत्वाकांक्षा बढी हुनु र एकअर्काको भावना बुझ्न नसक्दा परिवार विखण्डन हुने समाजशास्त्री बताउँछन् ।
समाजशास्त्रीहरु सम्वन्ध बिच्छेद हुनुको कारण एकअर्कालाई समय दिन नसक्नु, बड्दो सहरीकरण, स्वरोजगार र सामाजिक सञ्जाललाई समेत बताउछन । जीवनको उर्वर समयमा श्रीमान वा श्रीमति विदेश बस्दा पनि विरक्तिएर वा अरुतिर मन डुलेर यस्ता हुने गरेको समाजसाशास्त्री तिलक बमले बताए ।
आर्थिक बर्ष २०७२÷७३ को ६ महिनामा कैलालीमा सम्वन्ध विच्छेदका ५२ ओटा मुद्दा दर्ता भएकोमा यसबर्ष सोही अवधिमा ७१ ओटा मुद्दा कैलाली जिल्ला अदालतमा पुगेका छन ।
जसमध्ये अघिल्लो आर्थिक बर्षको मध्यसम्म १९ र यसबर्ष ३४ मुद्दा किनारा लागेका छन । सम्वन्ध विच्छेदका लागी भर्खरका युवायुवती देखी बृद्धबृद्धा समेत आउने कैलाली जिल्ला अदालतका श्रेस्तेदार जगदीश प्रसाद भट्टले नागरिक आवाज संग बताए ।
यसबाहेक नक्कली विवाह गरेर परनिर्भर भिसामा विदेश जाने र त्यहाँ रोजगार भैसकेपछि अदालतमा आएर सम्बन्ध विच्छेद गर्ने घटनाले पनि यसको संख्या बढाएको छ । अदालतमा आएर हाँसीहाँसी सम्बन्ध विच्छेद गर्नेहरु र हिंसा सहन नसकेर रुँदै साथ छोड्न खोज्नेहरुको संख्या बराबर देखिन थालेको पाइन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...