काठमाडौं । बम्बे हाइकोर्टले चलचित्र ‘जोली एलएलबी २’ को चार सीन हटाउन भनेको छ । हाइकोर्टको औरंगाबाद बेञ्चले सोमबार सिन हटाएर मात्र चलचित्र रिलिज गर्न आदेश दिएको छ । यता, जयपुरको एक अदालतले यो चलचित्रको ट्रेलरमा वकिलका विरुद्ध अशोभनीय टिप्पणी गरेको मामिलामा अक्षय र चलचित्र निर्देशकलाई अदालतले उपस्थिति हुन आदेश दिएको थियो ।
समाचार एजेन्सीलाई उद्धृत गर्दै भारतीय अनलाइन भाष्करले हाइकोर्टले गठन गरेको तीन सदस्यीय कमिटी (एमीकस क्युरी) ले चलचित्र देखाइएपछि केही सिनमा वकालत र कानुनी पेशालाई बदनाम गरेको दोष लगाएको उल्लेख गरेको छ । चलचित्र विवादित भएपछि हाइकोर्टले अधिवक्ता आरएन डोर्डे, वीजे दीक्षित र डा. प्रकाश आर कान्देसहितको तीन सदस्यीय कमिटी निर्माण गरेको थियो ।
सेन्सर बोर्डले भने यस अघि नै चलचित्रलाई पास गरिसकेको छ । तर, अदालतको आदेश पछि नयाँ सर्टिफिकेट जारी गर्नसक्नेछ । मंगलबार निर्माताले अदालतमा अपिल गर्न सक्नेछन् । यही हप्ता रिलिज हुने भनेको चलचित्र पछि सर्न सक्ने छ ।
अदालत भित्रका यी चार सिन हटाउन अदालतले आदेश दिएको छ ।
१. डराएका न्यायाधीस आफ्नो कुर्सी पछाडि लुकेको दृष्य
२. जुत्ता हानिएको दृष्य
३. आपत्तीजनक संकेत गरेको दृष्य
४. एक तर्कका क्रममा बोलिएको डाइलग
न्यायधीश एसएस सिन्दे र न्यायधीश केके सोनावनेको बेञ्चले सोमबार यो मामिलामा सुनुवाइ गरेको थियो । बेञ्चले चलचित्र निर्देशकलाई ४ सिन हटाउने आदेश गरेको छ । र, सिन हटाएपछि मात्र चलचित्र प्रदर्शन गर्न भनेको छ । डाइरेक्टरले पनि यो सिन हटाउने विश्वास दिलाएका छन् । चलचित्रमा अक्षय कुमार र हुमा कुरैशीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...