काठमाडौं, माघ २४ – साढे ३३ किलो सुन तस्कर भएको एक महिना तीन दिनमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री पक्राउ परे ।
विमानस्थलबाट सुन तस्कर भएको ११ औं दिनपछि अर्थात माघ ३ गते विमानस्थलमा कार्यरत एसएसपी खत्रीलाई हेडक्वाटर तानिएर अनुसन्धान थालिएको थियो । अनुसन्धानको २० औं दिनका दिन एसएसपी खत्रीको बर्दी फुकाल्दै सिआइबीले उनलाई हिरासतमा लियो ।आइतबार सिआइबीले पक्राउ गरेका एसएसपी खत्रीलाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेस गरियो र चार दिनको म्याद थप गर्दै उनीमाथि थप अनुसन्धान सुरु गरिएको छ ।
साढे ३३ किलो सुन तस्करको आरोपमा पक्राउ परेका एसएसपी अहिले ठूला प्रहरी अधिकृत देखिएपनि उनीभन्दा माथिल्ला प्रहरी अधिकृत पनि पक्राउ पर्ने सिआइबी स्रोतको दाबी छ । साढे ३३ किलो सुन तस्करीमा सहयोग गर्ने र कमिसन खाने अन्य प्रहरी उच्च अधिकारीको संलग्नता रहेकाले उनीहरु पनि अब अनुसन्धानको घेरामा आउने सिआइबी स्रोतले बतायो ।
को को छन् अनुसन्धानको घेरामा ?
सिआइबी उच्च स्रोतका अनुसार डिआइजी गोविन्द निरौला पनि अनुसन्धानको घेरामा छन् । २०७२ माघ २२ गते डिआइजी गोविन्द निरौला विमानस्थलमा सरुवा भएका थिए । पक्राउ परेकाको बयानका हेर्दा डिआइजी निरौला पनि शंकाको घेरामा आएको सिआइबी स्रोतले जनाएको छ ।
डिआइजी निरौलाभन्दा पहिला एसएसपी विजयलाल कायस्थले विमानस्थलमा निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका थिए । कायस्थले पनि विमानस्थलमा रहेका बेला सुन पास गराउँदै मोटो रकम लिने गरेको प्रहरी स्रोतको बुझाई छ ।
त्यस्तै भन्सार प्रमुख नारायणप्रसाद निरौलामाथि पनि शंका गर्ने आधार फेला परेको अनुसन्धानमा संलग्न एक अधिकारीले उज्यालो अनलाइनलाई बताए । भन्सार प्रमुखको जिम्मेवारी पाएका निरौलाले आफू निकटका कर्मचारीलाई सुन ल्याने बेला चेक गर्ने ठाउँमा पठाउने गरेको र सहज रुपमा सुन तस्करी गराउने गरेको प्रहरीको अनुसन्धान छ । त्यसकारण उनी पनि अनुसन्धानको दायरामा आउने प्रहरीको बुझाई छ ।
दुवईबाट पुस २१ गते साढे ३३ किलो सुन एयर अरेवियाको जहाजमार्फत नेपाल भित्रिएको थियो । जहाजमा लगेज लोड हुनुभन्दा पहिला चेकिङ हुने हुँदा पनि सुन नेपाल आउनुले जहाजको पनि दोषी हुनसक्ने भन्दै सिआइबीले एयर अरेवियाका नेपाल प्रमुखमाथि अनुसन्धान थाल्ने जनाएको छ ।
त्यस्तै दुवईबाट एयर अरेवियाको जहाजमार्फत साढे ३३ किलो सुन नेपाल भित्र्याएका गोपालबहादुर शाहीको बयानअनुसार अर्का एक जना प्रहरी अधिकृतपनि अनुसन्धानको घेरामा आउने देखिन्छ । सुन ल्याउन सेटिङ मिलाएबापत महानगरीय प्रहरी आयुक्त कार्यलयका डिआइजीसम्मलाई कमिसन बुझाउने गरेको बयान देखिएपछि अनुसन्धान लम्बिने भएको छ ।
यसरी प्रहरीका उच्चपदस्थ कर्मचारी र विमानस्थलका कर्मचारीको मिलेमतोमा चेक नगरी तस्करले ग्रिन जोनको बाटोबाट सुन पास गर्ने गरेको खुल्न आएको छ । पक्राउ परेकाको र शंकास्पद व्यक्तिको कल डिटेल हेरि उनीहरुमाथि अनुसन्धान थालिने सिआइबीले जनाएको छ ।
पक्राउ परेका र एसएसपी श्यामबहादुर खत्रीको कल डिटेलकै आधारमा एसएसपी खत्री पक्राउ परेका हुन् । सुन तस्करी हुनुभन्दा केही दिनअघिसम्म उनीहरु सुनको बारेमा फोनमा बारम्बार कुरा गर्ने गरेको तथा स्काइप र भाइबरमा समेत कुरा भएको स्रोतको बुझाई छ ।
‘२० दिनको अनुसन्धानपछि एसएसपी खत्रीलाई पक्राउ गरिएको हो । प्रहरीले प्रहरी संगठनकै बेइजत गर्न पक्रँदैन । अनुसन्धान गर्दै जाँदा शंका लागेका व्यक्तिको पनि प्रमाण जुट्यो भने पक्राउ पर्छन्’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘प्रमाण नुपुगी सिआइबीले पक्राउ गरेको होइन ।’
छानविन समितिले बुझायो प्रतिवेदन
विमानस्थलबाट साढे ३३ किलो सुन बाहिरिएको भोलिपल्ट अर्थात पुस २२ गते छानविन समिति गठन भयो । विमानस्थलका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्तोमा पाँच सदस्य छानविन समिति गठन गरिएको थियो ।
समितिले विमानस्थलमा खटिएका भन्सार विभागका कर्मचारी त्यसबेला को कहाँ थिए । कसलाई कस्तो जिम्मेवारी दिइएको थियो । कर्मचारीको आचरण कस्तो छ । कसको जिम्मेवारी के थियो लगायतका विषय समेटेर छानविन समितिले सिआइबीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन कर्मचारीको विवरण र कामको जिम्मेवारीमात्र भएको र प्रतिवदेन देखावटी जस्तोमात्रै भएको प्रहरीको आरोप छ ।
विमानस्थलले डिआइजीसम्मको फुक्ल्यो बर्दी
विमानस्थलमा कार्यरत अहिलेसम्मका दुई जना उच्च पदस्थ प्रहरी कर्मचारीको वर्दी फुक्लिसकेको छ । सुरुमा एसएसपी रविराज श्रेष्ठको वर्दी विमानस्थलबाट फुक्लिएको हो । २०६९ असोजमा एक करोड २४ लाख रुपैयाँ बराबरको विदेशी मुद्राको काण्डमा एसएसपी श्रेष्ठको वर्दी फुस्किएको थियो । विदेशी मुद्रा चलखेलको आरोप पुष्टि भएपछि उनले जागिरबाट हात धोएका थिए ।
त्यस्तै डिआइजी गोपाल भण्डारी पनि विमानस्थलका सिकार भए । विमानस्थलबाट सामान भित्र्याउँदा घुस लिएको आरोप लागेपछि उनी निलम्बनमा परे । यद्दपी उनीमाथि लागेको आरोप अझै विशेष अदालमा विचाराधिनमा छ ।
अहिले पक्राउ परेका एसएसपी श्यामबहादुर खत्रीमाथि लागेको आरोप पुष्टि भए उनको पनि बर्दी फुक्लिने पक्का छ । जिल्ला अदालत काठमाडौंको आदेश अनुसार चार दिन म्याद थप गरी अहिले उनीमाथि अनुसन्धान भइरहेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...