-->
यसरी भेटियो अस्पतालबाटै हराएको शिशु

जन्मेको तीन घण्टामा गत शुक्रबार नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरिएका नवजात शिशुलाई प्रहरीले ४८ घण्टाभित्र सकुशल उद्धार गरेको छ। बच्चालाई आमा आशादेवीको जिम्मा लगाएको छ। उपक्षेत्रीय अस्पतालको एनआईसीयू कक्षमा राखेर नवजात शिशुको स्वास्थ्य परीक्षण गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले बताए। 


 जन्म दिएको केही घण्टामै हराएको छोरालाई दुई दिनपछि काखमा खेलाउन पाउँदा आशादेवीको अनुहार चम्किएको थियो। ‘बहुत खुसी लागेको छ,’ उनले भनिन्, ‘भगवान्माथि भरोसा थियो।’ नवजात शिशु चोरीको आरोपमा प्रहरीले पर्साको बेल्वा–९ मिलनचोकस्थित माइती घरमा बस्दै आएकी २२ वर्षीय लालसा देवीलाई नियन्त्रणमा लिएको छ। 

 लालसाका बाबु विन्देश्वर साह कानुको घरमा शिशुलाई लुकाएर राखेको अवस्थामा प्रहरीले आइतबार अपराह्न करिब एक बजे उद्धार गरेको हो।  विवाह भएको ५ वर्ष बितिसक्दा पनि बच्चा नभएपछि नवजात शिशु अस्पतालबाट उठाएको लालसाले स्वीकार गरेको प्रहरी उपरीक्षक गोविन्दकुमार साहले बताए। बच्चाको चाहना भएकाले एक महिनादेखि बच्चा उठाउने उपयुक्त मौकाको पर्खाइमा उनी रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।


  शुक्रबार शिशुलाई खेलाउने बहानामा अभिभावकलाई झुक्याई लिएर गएको एसपी साहले बताए। अस्पतालका कर्मचारीको संलग्नताबारे पनि अनुसन्धान अगाडि बढाइएको उनले बताए। पक्राउ परेकी लालसालाई सार्वजनिक गर्ने बेला उपस्थित भएका मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डीआईजी पशुपति उपाध्यायले उद्धार गरिएको शिशुको अवस्था बुझ्न वीरगन्ज आएको बताए।  ‘शिशु चोरी भएपछि सीमावर्ती भारतीय प्रहरीसँग पनि समन्वय गरिएको थियो,’ उनले भने, ‘यस्तो दु:खदायी घटना जोसँग पनि घट्न सक्ने भएकाले सबैले सतर्कता अपनाउनुपर्छ। कुनै आगन्तुकमाथि शंका लागे को हो ? किन आएको ? भनी अस्पतालका कर्मचारीले सोधिहाल्नुपर्छ।


’ यसरी भेटिए नवजात नवजात शिशु अस्पतालको शय्याबाटै चोरी भएको जानकारी शुक्रबार करिब २ बजे प्रहरीले पाएको थियो। उपक्षेत्रीय अस्पतालको सीसीटीभी क्यामेरा बिग्रिएकाले त्यहाँबाट कुनै सुराक पाउने अवस्था थिएन। कुरुवा र आफन्तले अपरिचित महिलाले शिशु लगेको बाहेक जानकारी नआएपछि प्रहरीले स्थानीय स्तरमा विभिन्न नागरिकसँग सम्पर्क गरी सूचना बटुल्न थालेको थियो।  सञ्चारमाध्यममा पनि नवजात शिशु चोरिएको खबर प्राथमिकताका साथ प्रकाशित भएपछि पत्ता लगाउन प्रहरीलाई ठूलो दबाब परेको थियो। एक दिनअघिसम्म गर्भवती रहेको कुनै संकेत नभएको महिलालाई एक्कासि नवजात शिशुसँग देखेका एक नागरिकले प्रहरीलाई खबर गरेपछि त्यही सूचनाका आधारमा अनुसन्धान गर्दा शिशु फेला परेको एक प्रहरी अधिकृतले बताए। 


 ती अधिकृतका अनुसार लालसा माइती घरबाट बिहीबार वीरगन्जमा डेरा गरी बस्ने दाइकहाँ आएकी थिइन्। घरबाट शिक्षक तालिमका लागि वीरगन्ज जान्छु भनेर आएकी उनी त्यस दिन पनि अस्पताल पुगेकी थिइन्। शुक्रबार नवजात शिशु अस्पतालबाट उठाएर गाउँ जानुभन्दा अगाडि उनी एकछिन दाइको कोठामा पसेकी थिइन्। त्यहीबेला उनलाई नवजात शिशुसँगै वरिपरिका स्थानीयले देखेका थिए।  स्रोतले जानकारी दिएपछि प्रहरी पहिले उनको दाइको खोजीमा लागेको थियो। बहिनीले नवजात शिशु चोरेको थाहा पाइसकेका दाइले डरले आफ्नो मोबाइल स्विच अफ गरेका थिए । वीरगन्जको एक औषधि उद्योगमा कार्यरत उनका दाइलाई नियन्त्रणमा लिएपछि प्रहरी उनीसहित आइतबार गाउँ पुगेको थियो।


 ‘सुरुमा लालसाले मेरै बच्चा हो भनिन्,’ ती प्रहरी अधिकृतले भने, ‘हामीले तिमी सुत्करी भए/नभएको डाक्टरकोमा चेकजाँच गराउँछौं भनेपछि उनी गलिन्।’ कक्षा १२ सम्म अध्ययन गरेकी उनले विवाह गरेको ५ वर्षसम्म बच्चा नभएपछि अस्तालबाट उठाएको बताएकी छन् । बच्चा उठाउनुअगाडि उनी परिवारसँग घुलमिल भइसकेकी थिइन्।  दूध, पाउरोटी खरिदका लागि पैसा दिएकी थिइन्। सुत्केरी स्याहार्ने बेला शिशु रोएपछि उनले खेलाउने भन्दै शय्याबाट उठाएकी थिइन्। सासू र भाइबुहारी सुत्केरी रेखदेख गर्न लागेको मौका छोपेर उनी शिशु लिएर बाहिरिएकी थिइन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.