-->
चिडियाखानामा ‛बेहुला′ बनेर भित्रियो कोशीटप्पुको अर्ना (फोटो र भिडियोसहित)

ठूलो ट्रकभित्र ठूलै खोर । खोरभित्र भाले अर्ना । ट्रकको अघिपछि प्राविधिक र अरु रमिते । आइतबार चिडियाखाना भित्रको दृश्य अरु दिन भन्दा फरक देखिन्थ्यो । कोशीटप्पुबाट शनिबार हिँडाइएको भाले अर्ना आइतबार दिउँसो चिडियाखाना आइपुग्दाको दृश्य हो यो ।




भाले अर्नालाई स्वागत गर्न चिडियाखानाका कर्मचारी र प्राविधिक बिहानैदेखि तयार थिए । बाघको खोर नजिकै रहेको अर्ना बस्ने ठाउँलाई सफासुग्घर पारिएको थियो । भाले अर्ना बोकेको ट्रक भित्र छिर्ने बित्तिकै चिडियाखानाभित्र चहलपहल बढ्दै गयो ।
चिडियाखानाभित्रको परिसर साँघुरो भएकाले ठूलो ट्रकलाई अर्नाको खोर नजिकै पुर्याउन गाह्रो भयो । बल्लतल्ल ट्रक पुर्‍याइएपछि अर्नासहितको खोरलाई क्रेनको मद्दतले तल झारियो । ट्रकमा राख्नेबेला अर्नालाई बेहोस पारिएपनि चिडियाखाना आइपुग्ने बेलासम्म उसको होस खुलिसकेको थियो । खोरभित्र कोचिएर बसेको २४ घण्टा भैसकेकाले उ निकै छटपटाउँदै थियो । बेलाबेला खोर नै भत्काउँला झैं गरी उफ्रँदै थियो । जंगली जनावर भएकाले उसलाई सावधानीपूर्वक खोरबाट निकाल्नुपर्ने भएकाले प्राविधिकले निकै मेहनत गर्नुपर्‍यो ।
ट्रकमा ल्याइएको अर्नालाई खोरबाट निकाल्ने काम भैरहँदा चिडियाखानामा पहिलेदेखि नै रहेका अर्ना भने अचम्म मानेर हेर्दैथिए । वास्तवमा तिनै अर्नाका लागि कोशीटप्पुबाट भाले अर्ना ल्याइएको हो ।‛एक प्रकारले अर्नाको विवाह नै भन्दा हुन्छ’ चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाले उज्यालो अनलाइनसँग भन्नुभयो, ‛यहाँ रहेका पोथीका लागि नयाँ भाले भित्र्याएका छौं ।’
चिडियाखानामा पहिलेदेखि नै ६ वटा अर्ना थिए । एउटा माउसहित एउटा भाले र अरु पोथी । सबै त्यही माउका पाडापाडी अर्थात उनीहरु सबै एकै परिवारका । पाडापाडी पनि हुर्किसकेका । भालेलाई पोथी र पोथीलाई भाले जुराईदिंदा नयाँ अर्ना जन्मिने सम्भावना । हुन त पशुपक्षीमा एउटै परिवारभित्र पनि प्रजनन क्रिया हुन्छ । यहीँको भालेबाट नयाँ बच्चा पनि जन्मिसकेको छ ।
तर एउटै परिवारभित्रको हाडनाता सम्बन्धबाट जन्मिएका बच्चा स्वस्थ नहुने भएकाले चिडियाखानाले कोशीटप्पुबाट नयाँ भाले अर्ना ल्याएको हो । कोशीटप्पुका अर्ना चितवन निकुञ्जमा स्थानान्तरण गर्ने क्रममा त्यहाँको भालेलाई चिडियाखानामा ल्याएर यहाँको भालेलाई चितवन पठाइएको चिडियाखानाकी प्रमुख रचना शाहले जानकारी दिनुभयो ।  चिडियाखानामा रहेको भाले अर्नालाई आइतबार नै त्यही ट्रकमा राखेर चितवन पठाइएको छ । नयाँ भाले अर्नालाई आइतबार नै चिडियाखानाको वथानमा मिसाइएको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.