-->
रद्द गरिएका भिसा फेरि जारी, बीचमै रोकिएका यात्रु अमेरिका प्रवेश गर्न थाले

अमेरिका, २३ माघ - संघीय अदालतका न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय तत्कालका लागि निलम्बित गरेपछि रोकिएका यात्रु अमेरिका प्रवेश गर्न थालेका छन्।
अमेरिकी अधिकारीले विभिन्न ठाउँमा रोकिएका यात्रुलाई अमेरिका प्रवेश गर्न दिएको हो। अघिल्लो हप्ताको शुक्रबार राष्ट्रपति ट्रम्पको आदेशपछि विदेश मन्त्रालयले ६० हजार भन्दा धेरै भिसा रद्द गरेको थियो। तर अहिले अदालतले ट्रम्पको आदेश तत्कालका लागि निलम्बित गरेपछि रद्द गरिएका सबै भिसा फेरि जारी गरिरहेको विदेश मन्त्रालयले जनाएको छ।
सिएटलमा रहेको संघीय अदालतका न्यायाधीश जेम्स रोबर्टले शुक्रबार अबेर राष्ट्रपति ट्रम्पको आदेश तत्कालका लागि देशभर लागु हुने गरी निलम्बित गरेका हुन्। सरकारी वकिलले कुनै पनि राज्यसँग राष्ट्रपतिको कार्यकारी आदेश रोक्ने अधिकार हुँदैन भनि गरेको अपिलमा सुनवाई गर्दै न्यायाधीश रोबर्टले संविधानमा त्यो अधिकार रहेको फैसला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
वकिलको फैसलापछि प्रतिबन्धका कारण प्रभावित भएका यात्रु अमेरिका प्रवेश गर्न थालेका हुन्। अमेरिकी विदेश मन्त्रालयले सबै विमान कम्पनीलाई रोकिएका यात्रुलाई बोर्डिङ पास दिन आग्रह गरेका छ।
यसैबिच राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकारी आदेश तत्कालका लागि निलम्बित गर्ने न्यायाधीशको आलोचना गरेका छन्। उनले ट्वीट गरेर न्यायाधीश रोबर्टको आलोचना गर्दै लेखेका छन्, मेरो कार्यकारी आदेश कार्यान्वयनमा रोक्ने यो सोकल्ड न्यायाधीशको फैसला हाँस्यापद छ र यो उल्टिनेछ। अर्को ट्वीटमा उनले लेखेका छन्, एक न्यायाधीशले होमल्याण्ड सेक्युरेटी मन्त्रालयले गरेको निर्णय रोक्न सक्ने भएपछि हाम्रो देश कहाँ जान्छ होला, अब जोकोही वा नराम्रो मनसाय भएका व्यक्ति पनि अमेरिका आउन सक्छन् ?
ट्रम्पले इरान, इराक, सिरियासहितका सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउन कार्यकारी आदेश जारी गरेका थिए।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.