पुष्पकमल दाहालपछि प्रधानमन्त्री पदका दाबेदार रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख दलहरूसँग आफ्नो भेटघाट तीव्र बनाएका छन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ |
मधेसी मोर्चाका नेताहरूलाई आइतबार आफ्नै निवास बूढानीलकण्ठमा भेटेर देउवाले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव पारित गरेर मात्र निर्वाचनमा जाने आफ्नो दलको रणनीति रहेको भन्दै त्यसमा सघाउन मधेसी नेताहरूलाई आग्रह गरेका थिए ।

उनले आइतबार बिहान मात्रै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन वार्ता गरेका थिए । लगत्तै देउवा बालुवाटार पुगी प्रधानमन्त्री दाहालसँग परामर्श गरेका थिए ।
मोर्चाका नेताहरूसँगको भेटमा देउवाले व्यक्त गरेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मोर्चासँग भएको तीनबुँदे सहमतिको हस्ताक्षरकर्ता म पनि भएकाले त्यसको कार्यान्वयन मेरो प्रतिबद्धता हो । चाँडोभन्दा चाँडो संशोधन पारित गरी निर्वाचनमा जानुपर्छ ।'
प्रमुख प्रतिपक्षी एमालेले संशोधन विधेयकको विरोध गरिरहेका बेला कांग्रेस सभापति देउवाले विधेयकलाई छिटोभन्दा छिटो पारित गराउन आआफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए । उनले मधेसी मोर्चाको मागप्रति आफू इमानदार रहेको बताए । ‘मधेसी मोर्चाको माग पूरा गर्नुपर्छ । पहिला संविधान संशोधन विधेयक पारित गरी चुनावमा जानुपर्छ । यसमा मोर्चाले पनि साथ दिनुपर्छ', देउवाले भनेका थिए ।
देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संविधानसभाबाट संविधान जारी गराउन कांग्रेसले राणा, पञ्चायत र राजाको समेत अन्त्य गरायो । अब संविधानमा उल्लेख भएअनुसार गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई संस्थागत गर्न पनि कांग्रेस संविधान संशोधन गर्दै निर्वाचनमा जानेछ ।'
देउवाले बाहिर आएका प्रचारप्रसारमा नलाग्न मोर्चाका नेताहरूसँग आग्रह गर्दै संविधान कार्यान्वयनका लागि पनि संशोधन अनिमात्र निर्वाचन भन्ने आफ्नो बटमलाइन रहेको धारणा राखेका थिए ।
संशोधन विधेयकलाई परिमार्जनसहित अगाडि बढाउने सहमति कांग्रेस र मोर्चाबीच भएको छ । संशोधन विधेयकलाई आआफ्ना तर्फबाट पारित गराउन भूमिका निर्वाह गर्ने र त्यसका लागि परिमार्जनका विषयलाई सहमतिका साथ अगाडि ल्याउनुपर्नेमा पनि कांग्रेससँग सहमति भएको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले बताए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...