माघ २४– वैदेशिक रोजगारीको कुरा गर्ने बित्तिकै समस्या नजोडीएको विषय बिरलै पाउन थालिएको छ । र बिरलै होलान् समस्यामा नपर्ने युवा र तीनका गाउँ । ‘कोहीलाई एजेन्टले ठगे, कसैको घरबार उड्यो, अनि कतिपयका सदस्य बाकसमा फर्किए ।’ हिजो आज अखबारमा यस्तै खबर नियमित जसो पढ्न पर्छ ।
तर खोटाङको बाक्सिला ४ मा रहेको अधिकारी गाउँ यस्ता समाचारको पात्र बनेको छैन । यो गाउँमा ५७ घर छन् । र अन्य गाउँका जस्तै यहाँका पनि युवा रोजगारीका लागि विभिन्न देशमा पुगेका छन् । २८ परिवारका सदस्य परदेशमै छन् ।
न यो गाउँ सुगम ठाउँमा नै छ नत यहाँका मानिसले धेरै पढेलेखेका नै छन् । तर पनि जिल्लाका ७१ गाविस र एउटा नगरपाली भन्दा फरक छ । वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट बच्न गाउँले सबै सचेत छन् ।
परदेशीका परिवारमा पासपोर्ट, श्रम स्वीकृति, बीमा लगायतका कागजात सुरक्षित छन् । विदेश जानेहरुले यी कागजात घर परिवारमै छाड्छन् । पहिला नछाडेकाहरुले पनि पुगिसकेपछि पठाए ।
सुरक्षित आप्रवासन परियोजना सामीका स्वयंसेवक केशव अधिकारी वैदेशिक रोजगारीको क्षेत्रमा यो गाउँको चौकीदार जस्तै हुन् । गाउँका कोहि विदेश जान लागेको थाहा पाउनासाथ घरैमा पुगेर सल्लाह सुझाव दिनुहुन्छ ।
राहदानी बनाउन दिक्तेल जाँदा नजिकै रहेको सूचना तथा परामर्श केन्द्रमा कसैगरि पुग्न भन्नुहुन्छ । अनि गाउँलेहरुले पनि केशवको कुरा पत्याउँछन् ।
सूचना केन्द्रमा पुगेर सल्लाह सुझाव लिन्छन् । आफू जानजे देशको बारेमा बुझ्छन् । कसरी जाँदा सुरक्षित भइन्छ त्यसै गर्छन् । अहिले सिप सिकेर मात्रै जान थालेका छन् ।
यो अभियानमा अधिकार गाउँका अगुवा, नेता, शिक्षकको पनि उतिकै साथ छ । केशवले भन्नुभयो, ‘अब सुरक्षित वैदेशिक रोजगारीका लागि म मात्रै बोल्नु पर्दैन सबै एक छौं ।’
सात समुन्द्र पारिको यात्रा । पछि दुःख पाउनु भन्दा पहिल्यै सचेत हुनुपर्छ भन्ने बुझेका छन् । गाउँका वडा नागरिक मञ्चको बैठक देखि जिल्ला स्तरका कार्यक्रममा वैदेशिक रोजगारीका विषयमा छलफल हुन थालेको छ ।
वडानागरिक मञ्चकी संयोजक पदमकुमारी अधिकारीले भन्नुभयो, ‘मेरो पनि श्रीमान साउदीमा हुनुहुन्छ । विदेश जाँदाका कुनैपनि कागजात यहाँ थिएनन् । थाहा पाउनासाथ मगाएँ ।’
शिक्षक रेशकुमार अधिकारी पनि थप्नुभयो, ‘ हो यो गाउँमा हामीले भनेको प्राय सबैले मान्छन् । हामी कसरी जाँदा राम्रो हुन्छ त्यसै गर्नु भनेर सल्लाह दिन्छौं । अहिले सम्म समस्यामा कोहि पनि परेका छैनन् ।’
सुरक्षित वैदेशिक रोजगारीका लागि गाउँपरिषदबाटै बजेट विनियोजन हुन्छ । त्यहि बजेटले गाउँका विभिन्न ठाउँमा होर्डिङबोर्ड राखिएको छ । स्थानिय नेता गणेश अधिकारीले भन्नुभयो, ‘वैदेशिक रोजगारीबाट कुनैपनि गाउँ अछुतो रहेनन् । सबै गाउँका हुर्केका केटाहरु विदेशतिरै छन् । अब गम्भिर भएर सोच्ने बेला भएको छ ।’
स्वयंसेवक केशव अधिकारीको जाँगर बढ्दै छ । अव अरु गाउँमा पनि यस्तो अभियान सुरु गर्ने उहाँ बताउनुहुन्छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...